

चार वर्षदेखि निरन्तर घट्दै आएको भारतीय पर्यटकको आगमन २०१७ मा भने सुरुदेखि नै बढेर १० महिनामा १ लाख ३३ हजार २ सय ९ पुगेको छ। पछिल्ला वर्षमा भारतीय र चिनियाँ पर्यटक भित्र्याउने ठोस प्रर्वद्धनात्मक कार्यक्रम गर्न नेपाल चुकेकोले सोचेजस्तो आगमन नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने बताउनुहुन्छ।
नेपालमा हवाइ यातायात महँगो भएकोले भारतीयहरू नेपालमाभन्दा मलेसियामा भ्रमण गर्न जाने गरेकोले सोचेअनुसार भारतीय पर्यटक नेपाल भ्रमणमा नआएको होटल संघ नेपाल(हान) का महासचिव तथा एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाहको बुझाइ छ।

चिनियाँ पर्यटक १ लाख हारहारी भारतीय पर्यटक आगमनदरलाई पच्छ्याइ रहेको चिनियाँ पर्यटकको संख्या भने २०१७ मा १ लाख पनि नपुग्ने देखिएको छ। १० महिनामा चीनबाट ८३ हजार ३ सय ४२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। सरकारले सन् २०१८ भित्रमा २ लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दिपराज जोशीका अनुसार चीनको बेइजिङ सिधा उडान हुने हो भने अहिलेको दोब्बर चिनियाँ पर्यटक नेपाल पुग्नेछन्।
