भारतको कोलकाता भन्दा विशाखापट्टनम बन्दरगाह नेपालीलाई सस्तो

ram naam satya
(GMT+08:00) 2017-11-26 15:36:50

       तेस्रो मुलुकबाट सामान आयात गर्न प्रयोगमा ल्याइएको कोलकाता बन्दरगाहभन्दा प्राविधिक दृष्टिकोणले विशाखापट्टनम बन्दरगाह सस्तो एवं किफायती रहेको विज्ञहरूले औंल्याएका छन्। दूरीका हिसाबले विशाखापट्टनमभन्दा कोलकाता बन्दगाह नजिक रहे पनि प्राविधिक दृष्टिकोणले विशाखापट्टनम सस्तो रहेको उनीहरूको भनाइ छ।

कोलकाता बन्दरगाह प्रयोग गरी आयात गरिएको सामान महँगो हुने गरेको छ। यसबाहेक कोलकाताको साँघुरो बन्दरगाहमा पर्याप्त संख्यामा रेल परिचालन नहुँदा आयातकर्ताले सामानसहितको कन्टेनर भित्र्याउन र कन्टेनर फिर्ता पठाउन झन्डै साढे दुई महिना समय लाग्ने गरेको छ। कोलकाताबाट वीरगन्जका लागि हिँडेको कन्टेनर १४ देखि २१ दिनभित्र पुनः कोलकाता फर्काइसक्नुपर्छ। यस अवधिमा कन्टेनर फिर्ता पठाउन नसक्दा आयातकर्ताले विलम्ब शुल्क (डेमरेज)बापत करोडौं रुपैयाँ अतिरिक्त रकम बुझाउनुपरेको छ। यसबाट उपभोक्ता थप महँगीको समस्यामा पर्ने गरेका छन्।

कोलकाताको तुलनामा विशाखापट्टनमबाट सामान ल्याउँदा निकै सस्तो र सुविधाजनक हुने विशाखापट्टनम बन्दरगाह सञ्चालनसम्बन्धी अध्ययन गरेका नेपाल इन्टरमोडल यातायात विकास समितिका पूर्वकार्यकारी निर्देशक शरदविक्रम राणाले बताउनुभयो। तर आयात गर्ने व्यवसायीले भने विशाखापट्टनमको तुलनामा कोलकाता नै सस्तो हुने दाबी गरेका छन्। आयातकर्ता व्यापारीहरूले वैज्ञानिक रूपमा अध्ययनै नगरी कोलकाता सस्तो छ भनेर त्यहीँबाट सामान आयात गर्दै आएको उहाँको भनाइ उधृत गर्दै अन्नपूर्ण पोस्ट अनलाइनले लेखेको छ।

कलकोता बन्दरगाह व्यस्त सहर भएकाले बाटो पनि अवरुद्ध भइराख्ने र कोलकाताबाट एकैपटकमा ९० कन्टेनरभन्दा बढी परिमाणमा रेलवेको ‘ब्यागन’मा हालेर वीरगन्जसम्म पुर्‍याउने सुविधासमेत नभएको उहाँले बताउनुभयो। तर विशाखापट्टनम बन्दरगाहमा ९० कन्टेनरभन्दा बढी परिमाणमा एकैपटक लोड गरेर ल्याउन सक्ने व्यवस्था छ।

विशाखापट्टनम बन्दरगाहबाट वीरगञ्ज ल्याउन रेलवेको रुट किफायती रहेको उहाँले बताउनुभयो। कोलकाताबाट वीरगन्ज करिब चार सय चार किलोमिटर र विशाखापट्टनमबाट वीरगन्ज एक हजार तीन सय किलोमिटर दूरीमा पर्छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा आयातकर्ता प्रदीप केडियाले भने कोलकता रुटबाट ल्याउँदा लाग्ने डेमरेज शुल्क मात्रै नलाग्ने हो भने कोलकाता नै सस्तो भएको दाबी गर्नुभयो।

वीरगन्जस्थित क्लियरिङ एजेन्ट माधव बरालका अनुसार कोलकाता बन्दरगाहबाट छुटेको सामान रेलमार्फत तीन दिनमा वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आइपुग्नुपर्ने हो। तर सबै प्रक्रिया पूरा गरेको कन्टेनर पनि यहाँ आउन अहिले अढाईदेखि तीन महिना लाग्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *