

नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आर्ट काठमाडौं र चाइना-नेपाल कल्चरल एक्सचेन्ज सेन्टरको सहकार्यमा बेल्ट एण्ड रोड इनिसियटिभः नेपाल थाङ्का कला प्रदर्शनी शनिबारदेखि पैचिङस्थित चाइना-नेपाल कल्चरल एक्सचेन्ज सेन्टरमा शुरू भएको छ।
प्रदर्शनीको उद्घाटन गर्दै पैचिङस्थित नेपाली दूतावासका कन्सुलर मिनिस्टर हरिश्चन्द्र घिमिरेले नेपाल-चीन सहकार्य भविष्यमा अझै बलियो हुँदै जाने विश्वास व्यक्त गर्दै नयाँ वर्षको शुभकामना दिनुभयो।

नेपाल र चीन भूगोल, इतिहास र संस्कृतिले जोडिएका छन् भन्दै उहाँले नेपाल-चीन मित्रतामा इतिहासकालदेखि नै बौद्ध धर्मले पुलको भूमिका निभाएको बताउनुभयो। बुद्धभद्र, फा सियान, सुआन चाङ, भृकुटी, अरनिकोले दुवै देशको सभ्यतामा ठूलो योगदान गर्दै दुइ समाजलाई जोडेको बताउँदै उहाँले उनीहरूका कारण नै दुवै मुलुकले आजका दिनमा पनि सुमधुर सम्बन्धको खुशी साँच्न पाएको बताउनुभयो। सन् १९५५ मा नेपाल चीन दौत्य सम्बन्ध स्थापनापश्चात आधुनिककालीन मित्रता शान्तिपूर्ण सहअस्तित्व र आपसी सम्मानका आधारमा अघि बढेको पनि उहाँले सुनाउनुभयो।
काठमाडौ उपत्यकाको नेवार जाति सांस्कृतिक रूपमा निकै धनी रहेको बताउँदै उहाँले यस प्रदर्शनीले नेपालको कला संस्कृतिलाई अझै प्रवर्द्धन गर्ने विश्वास प्रकट गर्नुभयो।

कार्यक्रममा चाइना-नेपाल कल्चरल एक्सचेन्ज सेन्टरका मिस्टर ली पो, चाइना इन्भेस्टमेन्टर एसोसियसन स्युए तयिङ लगायत सहभागी भएका थिए। प्रदर्शनीमा थाङ्का चित्रहरू तथा हस्तकलाका सामग्रीहरू राखिएका छन्। प्रदर्शनी ३ हप्तासम्म अर्थात् मे ५ सम्म चल्नेछ। प्रदर्शनीमा ३० वटा नेवारी थाङ्का राखिएको आर्ट काठमाडौंका भूषण कायस्थले बताउनुभयो।




