बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

ram naam satya
  बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा रकम माग गर्दै अहिलेसम्म गोरखाको फुजेल र धादिङको चैनपुरका गरी एक हजार सात सय प्रभावितले निवेदन पेश गरेका छन्। दोस्रो चरणमा गत मंसिर दुई गते सूचना जारी गरेका गोरखातर्फका फुजेल, नाम्जुङ र बुंकोटका साथै धादिङतर्फ गत मंसीर तीन गते सूचना जारी गरिएका चैनपुर र ज्यामरुङका स्थानीय बासिन्दा अहिले धमाधम निवेदन बुझाउन थालेका सेतोपाटी अनलाइनले लेखेको छ।

        निवेदन दिने समय माघ २० गतेसम्म तोकिएको छ। त्यसभन्दा पछि बुझाएका निवेदन पनि लिइने आयोजनाले जनाएको छ। नाम निस्किएका प्रभावितले मुआब्जा माग गर्दै पेश गरेका निवेदन, लालपुर्जा मालपोत कार्यालय, नापी कार्यालयमा पठाएर दाखिला खारेज गरेपछि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा फाइल पठाइने आयोजनाका उपसचिव माधवप्रसाद अधिकारीले बताउनुभयो। जग्गाधनीको नाउँमा राष्ट्रिय बाणिज्य बैंकमा खोलेको खातामा मुआब्जा रकम उपलब्ध गराइनेछ।

पहिलो चरणमा गोरखाको घ्याल्चोक, दर्बुङ र भुम्लिचोकको सूचना जारी गरिएको थियो। त्यहाँका नौ सय जनाले मुआब्जा रकम बुझेका छन्। छुट तथा गुनासो रहेका निवेदनउपर यो साताभित्रमा मुआब्जा वितरण गरिसक्ने आयोजनाले जनाएको छ।

पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरीका एक हजार एक सय जनाले मुआब्जा रकम लिइसकेका छन् भने ६ सयभन्दा बढीको निवेदनबारे टुङ्गो लाग्न बाँकी छ।

बूढीगण्डकी आयोजनाले गोरखा र धादिङका बूढीगण्डकी प्रभावितलाई अहिलेसम्म चार अर्ब ४४ करोड रुपैयाँ मुआब्जा रकम वितरण गरिसकेको जनाएको छ। आयोजनाका उपसचिव अधिकारीका अनुसार गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङका नौ सय जनालाई दुई अर्ब १४ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ। धादिङका सलाङ, मैदी र खरीका एक हजार एक सय जनालाई दुई अर्ब ३० करोड रुपैयाँ उनीहरूको बैंक खातामार्फत मुआब्जा वितरण गरिएको छ।

‘अब मुआब्जा वितरणका लागि आयोजनामा दश अर्ब ५६ करोड रुपैयाँ बाँकी छ,’ अधिकारीले भन्नुभयो। दोस्रो चरणमा गोरखाको फुजेल, नाम्जुङ र बुंकोटका साथै धादिङको चैनपुर र ज्यामरुङका बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी छ।

‘पहिलेकै ५६ करोड रुपैयाँ हामीसँग मौज्दात छ। यस वर्ष आएको दश अर्ब रुपैयाँ पनि बाँकी नै छ,’ अधिकारीले भन्नुभयो। बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका साबिक १४ र धादिङतर्फका साबिक १३ वटा गाविस प्रत्यक्ष रुपमा प्रभावित पार्नेछ। गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा के कति निर्धारण गर्ने भन्नेबारे अध्ययन भइरहेको भए पनि निर्धारण गर्न बाँकी छ। अन्य क्षेत्रको मुआब्जा भने यसअघि नै निर्धारण भइसकेको छ। जग्गा हेरेर प्रतिरोपनी पाँच लाख २५ हजार रुपैयाँदेखि आठ लाख ३५ हजार रुपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *