

प्रदर्शनी उद्घाटन गर्दै उपराष्ट्रपति पुनले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न भएसँगै देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढेको औँल्याउनुभयो। आर्थिक समृद्धि हासिल गर्न देशमा प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन रहेको उल्लेख गर्दै उहाँले औद्योगीकरण, जलविद्युत्, कृषि र पर्यटनको विकासमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। तीव्र औद्योगीकरण र आर्थिक विकासका लागि विदेशी लगानीसमेत भित्र्याउनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले राज्यले लगानीमैत्री वातावरण बनाउन झन्झटिला नीति नियम र कानुनहरु परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। सरकार र निजी क्षेत्रको साझेदारी र सहकार्यबाट मात्रै आर्थिक विकास सम्भव रहेको सुझाउँदै उहाँले विदेशी सामानको व्यापार गरेर रातारात धनी हुने परिपाटी त्यागेर उद्यमशील बन्न आग्रह गर्नुभयो। व्यापार घाटा निरन्तर बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले अब गठन हुने प्रदेश सरकारहरुबीच औद्योगीकरण, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिनुभयो।
स्वदेशी उद्योगका उत्पादनको प्रवद्र्धनमा राज्यले विशेष नीति र कानुन बनाउनुपर्ने खाँचो औंल्याउँदै उपराष्ट्रपति पुनले हरेक प्रदेशमा औद्योगिक प्रदर्शनीका लागि स्थायी प्रदर्शनी भवनहरु आवश्यक पर्ने बताउनुभयो।

पूर्वअर्थमन्त्री एवं रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले चुनावपछि सबैको साझा लक्ष्य आर्थिक विकास र समृद्धि भएकाले अबको लडाइँ गरिबीको अन्त्य गर्नेमा हुने बताउनुभयो। उहाँले बुटवलको मोतपुर औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउँदा रुपन्देही जिल्ला देशकै प्रमुख औद्योगिक केन्द्र बन्ने उल्लेख गर्दै यहाँका उत्पादनहरुको बजारीकरणका लागि बुटवलमा अत्याधुनिक प्रदर्शनी भवनको खाँचो रहेको औंल्याउनुभयो। स्थायी प्रदर्शनी भवनको डीपीआर बन्दै गरेको जानकारी दिँदै उनले त्यसको बहुआयामिक प्रयोगका लागि सुझाव दिन नीजि क्षेत्रसँग आग्रह गर्नुभयो। प्रदेश नं ५ को राजधानी बुटवल वा रुपन्देही बाहेक अन्यत्र भए आन्दोलन हुने चेतावनी दिँदै उहाँले अन्यथा निर्णय नगर्न आग्रह गर्नुभयो।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अब बन्ने सरकारले उद्योगी व्यवसायीसँग चन्दा माग्न नपाउने नीतिकानुन बनाउन माग गर्नुभयो। “अबको सरकारले चन्दा उठाउने परिपाटी बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो, “तब मात्र निजी क्षेत्र उत्साहित हुनेछ।” नेपालको औद्योगिक र आर्थिक विकास लाजमर्दो अवस्थामा रहेको भन्दै अध्यक्ष शर्माले १० वर्षभित्र विश्वलाई नै उदाहरण दिनसक्ने गरी औद्योगिक विकास गर्न सकिने तर त्यसका लागि राज्यले नीजि क्षेत्रमैत्री नीति नियम कानुन बनाउनुपर्ने र लगानीको वातावरण बनाइदिनुपर्ने माग गर्नुभयो।

नीतिगत अस्पष्टता र झन्झटिला प्रावधान, प्रशासनिक ढिलासुस्ती आदि कारणले लगानीमैत्री वातावरण अझै बन्न नसकेको उहाँले गुनासो गर्नुभयो। प्रदर्शनी आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले औद्योगिक प्रदर्शनीका लागि स्थायी पूर्वाधारहरु नहुँदा अस्थायी संरचना बनाउन र भत्काउनमा बर्सेनि लाखौं रुपैयाँ खेर जानेको गुनासो गर्दै बुटवलमा स्थायी प्रदर्शनी भवन बनाउन माग गरे। प्रदर्शनीका लागि प्राप्त १७ बिघा बढी क्षेत्रफलको ‘बुटवल मण्डप’को गुरुयोजना बनाई अन्तराष्ट्रियस्तरको प्रादेशिक प्रदर्शनी भवन बनाउनसके रुपन्देहीको मात्र नभई प्रदेश नं ५ कै औद्योगिक उत्पादनको बजारीकरणमा टेवा पुग्ने उहाँले बताउनुभयो। प्रदर्शनीको प्रत्येक टिकट विक्रीबाट ४ रुपैयाँ बुटवलको मुटु अस्पताललाई तथा ५०–५० पैसा जितगढी किल्ला र शिक्षा क्षेत्रलाई छुट्ट्याइने अधयक्ष रेग्मीले बताउनुभयो।
सो अवसरमा रुपन्देही २ (१) का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, रुपन्देही १ (२) का प्रदेशसभा सदस्य दधिराम न्यौपाने, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, जिल्ला समन्वय समिति रुपन्देही संयोजक एकराज विक, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देही उद्योग संघका अध्यक्ष वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, महासचिव माधव पौडेललगायतले बोल्दै स्वदेशी उत्पादनको बजारीकरण र प्रवद्र्धन गर्नमा यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। पुस १८ गतेसम्म चल्ने प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकलन गर्ने र २० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ।
