

(GMT+08:00) 2017-11-28 16:02:43
गएको साउन महिनाको अन्तिम सातामा आएको बाढीले तहसनहस बनाएको सौराहाका पव तथा रेस्टुरेन्ट नयाँ ढङ्गबाट आकर्षण तरिकाले सञ्चालनमा आएका छन्। साउनको २९ गते आएको बाढीले राप्ती नदीको किनारमा रहेका प्रायः सबै पव तथा रेस्टुरेन्ट बगाएर बगरमा परिणत भएको थियो। तीन महिनाको मेहनतले ती स्थान रमणीय बनाइएको छ भने पर्यटक बस्नका लागि आकर्षण रूपमा सजाइएको छ। नदीको पानीमा चितवन निकुञ्जको जङ्गलबाट सूर्यास्त हुँदै गरेको दृश्य हेर्नका लागि किनारमा पर्यटक जाने गर्दछन्।सूर्यास्तसँगै मीठा परिकार खाँदै रमाउने, ‘हात्ती स्नान’ गर्ने, डुङ्गा शयर गर्नेजस्ता गतिविधि किनारको पवबाट पर्यटकले हेर्ने गर्दछन्। बगरमा परिणत भएको पव अहिले पुरानै स्वरूपमा नयाँ ढङ्गबाट सजिएपछि थप आकर्षण देखिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।
बगर बनेका झण्डै एक दर्जन रेस्टुरेन्टमा करोडौँको लगानी गरिएको रेवान सौराहाले जनाएको छ। साउन २९ गते राति आएको बाढीले समग्र सौराहालाई नै प्रभावित बनाएको थियो। त्यसमध्ये कतिपय होटलले एक सातादेखि नै सेवा सुरु गरेका थिए तर राप्ती किनार भने बगर बनेकाले पुरानै स्वरूपमा ल्याउन समय लागेको गोरखापत्र अनलाइनले लेखेको छ।

पर्यटकका लागि सबै सेवा सुरु भइसकेको छ, सौराहा ‘बीच’ रेस्टुरेन्टका सञ्चालक बलराम दाहालले भन्नुभयो, रेस्टुरेन्ट पुरानै स्वरूपमा ल्याउन झण्डै ५३ लाख खर्चनुपर्यो।