बबरमहलमा नेपाली र चिनियाँ चित्रकला प्रदर्शनी

ram naam satya

नेपाल कला परिषद् र नेपाल चीन ओबोर संस्कृति आदानप्रदान प्रवर्दन संस्थाद्वारा आयोजित ‘प्रथम ओबोर चीन–नेपाल लाक्वेर चित्रकला प्रदर्शनी’ भएको छ। नेपाली कलाकारले बनाएको ३५ र चिनियाँ कलाकारले बनाएको ६५ गरी करिब १०० वटा चित्रकला राखिएको प्रदर्शनी कला परिषद्को कार्यालय बबरमहलमा शुरू भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
न्यू आर्ट सर्कल सहप्रायोजक रहने सो प्रदर्शनीमा नेपालका शङ्करनाथ रिमाल, नरेशसुन्दर सैँजु, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, शान्तकुमार राई, किरण मानन्धर र कृष्ण मानन्धर तथा चीनका ३५ कलाकार सहभागी छन्।

प्रदर्शनीमा बुद्ध, प्रकृति, पुल, हिमाल, हात्ती, नारी भू–दृष्य, मूर्तअमूर्तलगायतका चित्र राखिएको छ। विशेष वनस्पतिबाट प्राप्त लाहा (खोटो) बाट बनाइएका चिनियाँ चित्रको परम्परा आठ हजार वर्ष पुरानो मानिन्छ। जुन अहिले विश्वभरि प्रचलनमा आइसकेको छ। प्रदर्शनी यही माघ २६ गतेसम्म चल्ने छ।

प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीन कला संस्कृतिमा अत्यन्त सम्पन्न मुलुक भएको र सम्पन्नतामाथि दुवै देशका कलाकारको ठूलो योगदान रहेको बताउनुभयो। ‘एक देशको कला अर्को देशमा समेत प्रवद्र्धन भइरहेको र दुवै देशका लागि यो खुशी मात्र होइन, गौरव गर्न लायक कुरा हो’, उपराष्ट्रपति पुनले भन्नुभयो। चिनियाँ कालाकारले त्यहाँको चित्रकलाबारे जानकारी गराउँदा चिनियाँ कलाकारको प्रवर्द्धन भएको उपराष्ट्रपति पुनको भनाइ छ।

उपराष्ट्रपति पुनले नेपालमा संविधान भएसँगै सबै तहको निर्वाचन सम्पन्न भएको सन्दर्भमा अब मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको बताउनुभयो। नेपाल कला परिषद्का अध्यक्ष सत्यमोहन जोशी र परिषदका महासचिव शंकरनाथ रिमालले कला संस्कृतिको माध्यमबाट दुई देशबीच सांस्कृतिक संवद्र्धन बढाउन अध्ययन अनुसन्धान र प्रदर्शनीजस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल–चीन ओबोर संस्कृति आदानप्रदान प्रवर्द्धन संस्थाका अध्यक्ष वील ओइले चित्रकला प्रदर्शनीले चीन र नेपालको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। चीनको क्वाङचाउका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईले प्रदर्शनीले चीनका लागि संस्कृति इतिहास र जनजीवनबारे ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *