फेरि चल्यो विराटनगर जुट मिल

ram naam satya
(GMT+08:00) 2017-11-27 15:18:14

मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्स आइतबारबाट सञ्चालनमा आएको छ। नयाँ व्यवस्थापनले करिब ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो। ०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द थियो।

नयाँ व्यवस्थापनले मिल्सलाई पूर्णरुपमा आईपी सिस्टमको सीसी क्यामेराको निगरानीमा राखेर सञ्चालन गरेको छ। जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिलमध्ये पहिलो चरणमा पुरानो मिल्सलाई सञ्चालनमा ल्याएको छ।

मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए। विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ।

३ करोडको लागतमा एउटा मिल सञ्चालन भएको छ। र, थप २ करोड पुँजीको व्यवस्थापन गरेर पुस महिनादेखि दुबै मिलहरु पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालक समितिका अध्यक्ष काफ्लेले जानकारी दिएको अनलाइनखबरले लेखेको छ।

आइतबारबाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन जुट उत्पादन गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन्। ०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐनअनुसार मिल्सले नयाँ व्यवस्थापन पाएको छ।

नयाँ व्यवस्थापनले आफ्नो अनुकुल मिल सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पुर्‍याएको छ। नयाँ व्यवस्थापनले मिलको पुँजी वृद्धिका लागि यसअघि २५ हजार कित्ता सेयर विक्री गरको थियो।

मिल सञ्चालक समितिका अनुसार प्रति कित्ता १ सय ६० रुपैयाँको दरमा विक्री हुँदा ४० लाख पुँजी वृद्धि भएको छ। मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ। यसअघि मिल्स सञ्चालनका लागि सरकारबाट पटक-पटक गरि ल्याएको १ सय १३ करोड ऋण तिर्न बाँकी थियो।

सरकारले यसअघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो। तर, केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउँदै विलसन कम्पनी भारत फर्केपछि २०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा वन्द अवस्थामा थियो।

वि.सं. १९९३ मा उक्त जुट मिल स्थापना भएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *