

वामगठबन्धनकाे पक्षमा बहुमत अाएपछि भारत अत्तालिएकाे हाे। उसले नेपालकाे राजनीतिक दलहरूकाबीचकाे अन्तर्द्वन्दमा खेलेर सरकार बनाउन नदिन अथक प्रयास गर्दा पनि सफल हुन नसक्ने र नेपालमा वामगठबन्धनकाे सरकार बन्ने भएपछि अब भारतले नेकपा एमालेका अध्यक्ष कमरेड केपी अाेलीलाई प्रभावमा पारेर भएपनि अगाडि बढ्ने नीति लिएको छ।

यही नीति अनुसार नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अब बन्ने नयाँ सरकारलाई जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको रिपाेर्टर्स नेपालमा अायाेजित साक्षात्कार कार्यक्रममा गत विहीवार बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा भारतीय राजदूत पुरीले भने, ‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ। यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ। निर्वाचनपछि मोदीले तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको स्मरण गर्दै उनले भने, ‘यो बीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो। यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

राजदूत पुरीले भारत नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताए। आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन्। साथै नेपाल र भारतले एक-अर्काबीच विन-विनको आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्ने उनले बताएका छन्।

वीरगञ्जमा देखिएको सीमा विवादबारे सोधिएको प्रश्नमा राजदूत पुरीले भने,’नेपाल र भारतबीच १९९८ मा सीमा सम्झौता भएको थियो र दुवै देशवीचका सबै सीमा नाकाहरुमा सीमांकन र स्ट्रिप म्याप सबै बोर्डरहरुमा त्यही अनुसार लागू हुन्छ भनिएको हो। संयुक्त सर्वेका अनुसार पिलरहरु निर्धारण गरिएको छ।’ यसबारे दुवै सरकारबीच छलफल हुने पनि साेही समयमा बताए।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताे, नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका नेता कमरेड प्रदीप ज्ञवाली लगाएतले अा-अाफ्नाे विचार राख्नुभएको थियो।