फिङछोलिन गुम्बा

ram naam satya

सन् १६१४ मा निर्माण भएको फिङछोलिन गुम्बा शिगाचेको लाच जिल्लाभन्दा साट्ठी किलोमिटर टाढा रहेको फिङछोलिन गाउँमा पर्दछ। जोनाङ सम्प्रदायका वरिष्ठ भिक्षु तारानाथको अध्यक्षतामा उक्त गुम्बाको निर्माण भएको थियो। सुरुमा गुम्बा तिब्बती बौद्ध धर्मको जोनाङ सम्प्रदायको थियो। तर पाँचौँ दलाइ लामाको शासनकालमा सम्प्रदाय फेर्ने कार्यक्रमका तेह्र वटा गुम्बामध्येको एक भएकोले गेलुग सम्प्रदायमा परिवर्तन भएको थियो र हालसम्म पनि त्यसैले निरन्तरता पाएको छ।

फिङछोलिन गुम्बा समुद्र सतहदेखि ४१०० मिटरको हिमाली पठारमा पर्छ। पूर्वतिर निर्माण भएको गुम्बाको क्षेत्रफल चालीस हजार वर्ग मिटर छ र पहाडमाथिको मुख्य निर्माण समूह र पहाड तलको शाखा निर्माण समूह गरी दुई भागमा निर्माण गरिएको छ। मुख्य निर्माण समूहमा भेला दरबार, धर्म दरबार, धार्मिक कलेज, र प्राचीन तिब्बती सरकार कार्यालयको भग्नावशेष आदि रहेका छन् भने शाखा निर्माण समूहमा गोप्य मन्त्र दरबार, अर्हत दरबारलगायत विभिन्न दरबार र केही भिक्षुका कोठाहरू रहेका छन्।

१७०० वर्गमिटर फैलिएको भेला दरबार फिङछोलिन गुम्बाको केन्द्रिय भाग हो। दरबार तीन तलाका छन् भने छतीस वटा स्तम्भको आधारमा निर्माण भएको दरबार माटो, ढुङ्गा, र काठबाट बनाइएको छ। दरबारको पहिलो तलाको बरण्डा र धर्मग्रन्थ हल, दोस्रो तलाको बौद्ध अभिभावक दरबारको गेलरीको भित्ता, तथा तेस्रो तलाको बुद्ध दरबारको चारै भित्तामा शाक्यामुनिको जीवनीसम्बन्धी रङ्गीन भित्ते चित्र कुँदिएका छन्। ती चित्रहरुको उच्च ऐतिहासिक तथा सांस्कृतिक मूल्य रहेको छ र यो नेपाली बौद्ध धर्मको भित्ते चित्रबारे अध्ययन गर्ने महत्वपूर्ण सामग्री पनि हो।

फिङछोलिन गुम्बामा पैँतीस वटा भवन र एउटा महिमा धर्मग्रन्थ गाउने भवन छ। धर्मग्रन्थ गाउने भवनमा एकै चोटि हजारौँ भिक्षु अटाउँछ। गुम्बा रहेको पहाडको शिखरमा एउटा नौ तले भवन छ जहाँ जम्मा गरी चौरान्नब्बे वटा कोठा रहेको छ र यो त्यहाँका महागुरू दायेलाता सुत्ने कोठा थियो। गुम्बामा निकै धेरै मूल्यवान् भित्ते चित्र र अरु १६४ वटा सुनको जलप लगाइएका तामाका बुद्ध मूर्तिलगायत विभिन्न बौद्ध धर्मको कला वस्तु छन्।

हाल गेलुग सम्प्रदाय अन्तर्गत रहेको फिङछोलिन गुम्बामा बौद्ध धर्मको भित्ते चित्र र मूर्तिबाहेक अरु चार वटा मूल्यवान् वस्तु पनि संरक्षित छन्। पहिलो भनेको जोनाङ सम्प्रदायका प्रसिद्ध बौद्ध धर्मशास्त्री थुपुवा सिराउचेनचानले प्रयोग गर्नुभएको लगभग एक मिटर लामो छडी हो। दोस्रो भनेको युआन वँशमा मंगोलियालीले दायेलातालाई दिएको छडी हो। जुन १.२ मिटर लामो छ र यसमा मंगोलियाली तथा तिब्बती भाषा र ड्रागनलगायतका चित्र कुँदिएको छ। तेस्रो भनेको मिङ वँशकालिन जोनाङ सम्प्रदायका वरिष्ठ लामा तारानाथको धार्मिक कचौरा हो। किम्वदन्तीका अनुसार, धर्मावलम्बीहरु धार्मिक कचौराबाट निस्किने आवाज सुनेर दुःखबाट मुक्त हुनसक्छन्। चौथो भनेको एक जोडि रत्न हो। एउटा सेतो अण्डाको आकारको छ जसमा तान्त्रिक मन्त्र र स्वस्तिक चिन्ह प्राकृतिक रुपमा नै कुँदिएका छन् भने अर्को बदाम आकारको हो जसमा केही सेतो धर्का देख्नसकिन्छ। हाल यी चार मूल्यवान बस्तु गुम्बामा संरक्षित छन् र फिङछोलिन गुम्बाको इतिहास र बौद्ध धर्मको संस्कृतिबारे अध्ययन गर्ने महत्वपूर्ण थलो बनेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *