

गान्तोक, 4 मई। हिमाली राज्य सिक्किमबाट 2013 सालदेखि स्वतन्त्र चलचित्र निर्माताको रूपमा आफूलाई स्थापित गर्दै आएकी राजधानी गान्तोक नजिकको सानो गाउँ नाण्डोक निवासी 27 वर्षीया त्रिवेणी राईले अहिले सिक्किम र भारतलाई विश्वको विभिन्न मुलुकमा प्रतिनिधित्व गर्न सक्षम भइरहेकी छन्।

यसैक्रममा त्रिवेणी राईले गत 18 देखि 24 अप्रेलसम्म ईरानको राजधानी तेराहनमा भएको फर्ज अन्तरराष्ट्रिय फिल्म उत्सव (एफआइएफएफ) मा भारतबाट सहभागी हुने अवसर पाएकी थिइऩ्। जसमा उनले आफ्नै परिवारसित सम्बन्धित कथालाई लिएर तयार पारेको फिल्मको खेस्रा सुनाएपछि उत्सवमा फिल्म निर्माणको निम्ति अनुदान जित्नका साथै ‘सर्वश्रेष्ठ छोटो फिल्म आइडिया’ वर्गमा दोस्रो स्थानमा विजयी बनिन्। विश्वको 20 वटा राष्ट्रका 60 प्रतिनिधिहरूले सहभागिता जनाएको यो उत्सवमा त्रिवेणीले ‘अ हाउस फूल अफ् वुमन’ छोटो फिल्मको कथा सुनाएकी थिइन्। सप्ताहव्यापी फिल्म उत्सवमा सफलता पूर्वक सिनेमाबारे हलिवुड, बलिवुडदेखि लिएर विश्वका विभिन्न मुलुकका निर्देशक र फिल्म निर्माताहरूको राम्रै जमघट रहेको अनि त्यहाँ सिनेमा बारे थुप्रै कार्य अनुभव बटुल्ने मौका पाएको आफ्नो घर फर्किआएपछि सुश्री राईले बताएकी छन्।

उनले आफ्नो फिल्मको आइडियालाई सिक्किमको महिलाहरूलाई गरिएको सशक्तिकरण र त्यसको निम्ति सरकारी तौरमा सिर्जना गरिएको अवसरहरूलाई पनि बताउन पाएको तथा भारतको महिलाहरूको अवस्था र सिक्किमको फरक रहेको कुरालाई बताउन चाहेको पनि बताइन्। आफू स्वयं महिलामय परिवारमा हुर्किएको अनि त्यहाँको वातावरण र त्यहाँबाट सिकेको कुरालाई नै फिल्ममा राख्ने निधो गरेको पनि बताइन्। उनले आफ्नो अनुभव राख्दै परिवारमुखी नै भएर महिलाहरूलाई लिएर तयार पारेको कथालाई आधार पारेर ठूलो पर्दाको निम्ति पनि फिल्म बनाउने सहास जुटेको बताइन्। उनले महिला उन्मुक्तिको कुराबारे देशको अन्य राज्यहरूबारे रहेको धारणा भन्दा सिक्किममा फरक रहेको अनि सिक्किममा त्यसै पनि सुरक्षित रहेको अनुभवले पनि त्यस्ता साना साना कुराहरूलाई लिएर पुरूषले अनुरोध गरेको कुराहरूलाई पनि महिलाले गर्न सक्ने शक्तिलाई फिल्ममा उतारेर महिला उन्मुक्तिको कुरालाई संकथनमा हाल्न चाहेको पनि बताइन्। उनले तेहरानमा विजेता बन्न सफल बनेको उनको फिल्मको आइडियामा पनि महिलाले के गर्न सक्छन् कति सशक्त छन् भन्ने कुरालाई फिल्मको चरित्रहरूमार्फत अघि ल्याउने प्रयास गरेको पनि बताइन्। आगामी 2020 सालमा त्यसै महिला सशक्तिकरण र पारिवारिक कथामा आधारिक ठूलो पर्दाको फिल्म दर्शक सामु ल्याउने उनले घोषणा पनि गरिन्।

तेहरानमा उनले पुरस्कार जित्न सफल बनेको फिल्मको आइडीयालाई उक्त उत्सवले लगानी गरेर त्यै कथामा फिल्म बनाउन सहयोग गरेको छ। जुन 15 मिनट लामो फिल्म हुनेछ। सुश्री राईले अहिलेसम्म 10 वटा छोटा फिल्महरू बनाइसकेकी छन् भने यसभन्दा अघि उनले जर्मनमा पनि अन्तरराष्ट्रिय कार्याशालामा जाने अनि भारत र सिक्किमको प्रतिनिधित्व गर्ने मौका पाइसकेकी छन्। यसपाली भने त्रिवेणीसित कश्मीरका युवा फिल्म निर्माता रूमान हमान्डीले भारतबाट प्रवेश पाएका थिए। सिक्किमे युवा निर्देशक राईले फिल्म निर्देशन र पटकथा लेखनमा भारतको चर्चित सत्यजीत रे फिल्म एण्ड टेलिभिजन इन्स्टीट्युडबाट डिप्लोमा पुरा गरिसकेकी छन्।


