प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार

ram naam satya

शासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हाल्नु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सोमबार मन्त्रीमण्डल विस्तार गर्नु भएको छ। विस्तारमा प्रधानमन्त्री ओलीले चारजना मन्त्री थप गर्नु भएको हो। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्नु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, एमाले महासचिव ईश्वर पोखरेललाई रक्षा र माओवादी सचिवालय सदस्य मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाउनु भएको हो।

अर्थमा एमालेभित्रै पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्म आकांक्षी थिए। यी सबै ‘भेट्रान’ नेतालाई पाखा लगाउँदै डा.खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाउनु भएको हो। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा राजनीतिमा भने नयाँ अनुहार हुनुहुन्छ। अर्थतन्त्र बुझेका डा. खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास लिइएको छ।

डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री गर्नु भएको छ। वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका खतिवडालाई मौद्रिक ज्ञाताको रुपमा लिने गरिएको छ। उहाँले २०६६ चैत ९ गतेदेखि २०७१ चैत ५ गतेसम्म राष्ट्र बैंकको १५ औं गर्भनर भएर कार्यभार सम्हाल्नु भएको थियो।

राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त हुनु भएको थियो। योजना आयोगमा उहाँ राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै २०५८ मा सदस्यका रुपमा नियुक्त हुनु भएको थियो। राष्ट्र बैंकका क्याडर रहेका खतिवडा लामो समयसम्म अनुसन्धान विभागको प्रमुख हुनुहुन्थ्यो।

त्यस्तै, गृहमा माओवादी नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनसम्मले दाबी प्रस्तुत गरे पनि अन्ततः थापाले बाजी मारेका छन्। एमाले महासचिव पोखरेलले रक्षामा चित्त बुझाउनु भएको छ। बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका पोखरेल अहिले मन्त्रीमै चित्त बुझाउन बाध्य हुनु भएको छ।

त्यस्तै, ०६५ सालमा भूमिसुधारमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर चर्चामा रहेका माओवादी नेता यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। यादवले रोजेकै मन्त्रालयको जिम्मा दिएर माओवादीले उहाँलाई सरकारमा पठाएको छ।

अर्थ र गृहमा पठाउने मन्त्रीको नाममा पार्टीभित्रै चर्को ‘प्रेसर’ मा ओली-दाहाल परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। अझै प्रधानमन्त्री ओलीले ११ जना मन्त्री नियुक्त गर्न बाँकी छ। प्रधानमन्त्रीले सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी गरे पनि संघीय फोरमसमेतलाई सरकारमा ल्याउने प्रयासमा सफलता नमिलेपछि एमाले-माओवादीका दुई-दुई जना मन्त्रीलाई मात्र नियुक्त गरेका हुन्। थप मन्त्री चयन र संघीय समाजवादीसँगको छलफल निष्कर्षमा नपुगेका कारण सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो।

‘संघीय समाजवादीलाई पनि सरकारमा सहभागी हुन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको र फोरम स्वयंले पनि सहभागी हुने संकेत देखाएकाले त्यसको छलफल नटुंगिएका कारण मन्त्रिमण्डलले पूर्णता नपाएको हो’, अधिकारीले भन्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *