प्रदेशमा चारसय कर्मचारी खटाइयाे

ram naam satya
प्रदेशको मुख्यमन्त्री, प्रदेश प्रमुख, सातै मन्त्रालय र प्रदेशसभा सचिवालयमा गरी नेपाल सरकारले ४ सय कर्मचारी खटाएको छ। सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशमा सफलतापूर्वक कार्यसञ्चालन गर्न झन्डै ४ सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले जानकारी दिनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

सामान्य मन्त्रालयका अनुसार हाल खटिएका ४ सयसहित प्रदेशमा तत्काल आवश्यक २ हजार ९ कर्मचारी तत्काल खटाउने गृहकार्यलाई अन्तिम रूप दिइएको प्रवक्ता न्यौपानेले बताउनुभयो। सरकारले एक साताअघि प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालय, प्रदेशमा रहने ७ मन्त्रालय र प्रदेशसभामा आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो। सोअनुसार सामान्यले कर्मचारी खटाउन थालेको हो। सरकारले सातै प्रदेशका मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव र सचिव खटाइसकेको छ। सरकारले पछिल्लो समय प्रदेश १ मा सन्तोष श्रेष्ठ, प्रदेश २ मा हरि फुयाँल, प्रदेश ३ मा रमेशप्रसाद सिवाकोटी, प्रदेश ४ मा लालमणि ओझा, प्रदेश ५ मा दीपेन्द्र काफ्ले, प्रदेश ६ मा यज्ञराज बोहोरा र प्रदेश ७ मा प्रदीपराज कँडेललाई सचिवमा खटाइसकेको छ।

सरकारले प्रादेशिक मन्त्रालय व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि सचिव खटाएको छ। प्रदेश १ मा यज्ञराज खत्री, प्रदेश २ मा देवीराम भण्डारी, प्रदेश ३ मा बलदेवप्रसाद जोशी, प्रदेश ४ मा फणिन्द्रमणि पोख्रेल, प्रदेश ५ मा प्रेमप्रसाद भट्टराई, प्रदेश ६ मा केशवराज आचार्य र प्रदेश ७ मा पिताम्बर घिमिरेलाई आन्तरिक मामिला मन्त्रालयको सचिवमा खटाइएको छ।

सामान्यका प्रवक्ता न्यौपानेका अनुसार सामान्यले प्रदेश कार्यालयमा आवश्यक प्रशासनिक कर्मचारी खटाइसकेको छ भने कानुन, राजस्व, लेखा समूहका कर्मचारी खटाउन तालुक तथा सम्बन्धित मन्त्रालय र निकायमा पत्राचार गरिएको छ। मन्त्रालयका अनुसार सातै प्रदेश प्रमुखको कार्यालयमा १८ जनाका दरले १ सय २६ जना, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २९ जनाका दरले २ सय ३ जना र आन्तरिक मामिला मन्त्रालयमा २९ जनाका दरले २ सय ३ कर्मचारीमध्ये आधाभन्दा धेरै खटाइ सकिएको र अन्यलाई तत्काल खटाउने तयारी छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आवश्यक १८ जनाका दरले १ सय २६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा आवश्यक २४ जनाका दरले १ सय ६८ जना, सामाजिक विकास मन्त्रालयमा आवश्यक ३० जनाका दरले २ सय १० जना कर्मचारी पनि छिट्टै खटाइने सामान्यले जनाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २९ जनाका दरले २ सय ३ जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाका दरले २ सय ३ जना कर्मचारी तत्काल खटाउने गृहकार्य भइरहेको सामान्यका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। सातै प्रदेशसभा सचिवालयका लागि प्रति सचिवालय २७ जनाका दरले १ सय ८९ कर्मचारी खटाउने तयारी अन्तिम चरणमा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशमा खटिएका प्रदेश प्रमुख सचिव, प्रदेश प्रमुखको कार्यालय र मन्त्रालयका सचिवहरुलाई प्रदेशमा गर्नुपर्ने कामबारे जानकारी दिन सोमबार अभिमुखीकरण गर्ने भएको छ। अभिमुखीकरणमा केन्द्रका अर्थ, गृह, रक्षा, संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास, सूचना तथा सञ्चारलगायत मन्त्रालयका सचिवहरूले मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रालयहरूले गर्नुपर्ने काम र जिम्मेवारीबारे छलफल गर्ने र जानकारी दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *