पोखरामा प्याराग्लाइडिङ प्रतिश्पर्धा

ram naam satya

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धा आज शनिबारबाट पोखरामा सुरु हुदैछ। पहिलो दिन शुक्रबार अभ्यास खेल मात्र खेलाइएको थियो। सबै खेलाडीले शुक्रबार दुवै बिधामा एक एक राउन्ड अभ्यास गरेको नागरिक अनलाइनले लेखेको छ।

प्रतियोगिता सोमबारसम्म चल्नेछ। नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार प्रतियोगितामा एक्युरेसीमा ५ र क्रसकन्ट्रीमा ३ राउण्ड खेल संचालन हुनेछ। मौसमले साथ दिएको खण्डमा एक्युरेसीमा पहिलो र दोश्रो दिन दुई र अन्तिम दिन

एक राउण्ड खेल संचालन हुनेछ। क्रसकन्ट्रिमा हरेक दिन एक एक राउण्डका दरले प्रतिश्पर्धा हुने उहाँले बताउनुभयो। प्रतियोगितामा सहभागी खेलाडीले पोखराको सराङकोटबाट उडेर फेवाताल किनारको खपौदीमा अवतरण गर्नेछन्। रावतका अनुसार प्रतियोगितामा प्रदेश १, प्रदेश ३ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका छन्। त्यस्तै विभागीय टिम आर्मीले पनि प्रतियोगितामा सहभागिता जनाएको छ। आर्मीको सहभागिता पहिलो पटक भएको उहाँले बताउनुभयो।

प्रतियोगितामा टिम क्रसकन्ट्री र टिम एक्यूरेसी तथा इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीतर्फ पुरुषको प्रतिश्पर्धा हुँदैछ भने महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा मात्र प्रतिश्पर्धा हुने रावतले बताउनुभयो। खेलाडीहरुले कुल ६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ भने प्रदेश १, प्रदेश ३, गण्डकी र विभागीयबाट मात्र प्रतिश्पर्धा गर्दैछन्। सबैगरि ५१ जना पुरुष र १० महिला गरि ६१ जनाले भाग लिएको उहाँले बताउनुभयो। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले पुरुषतर्फ १० र महिलातर्फ ४ गरी १४ खेलाडीलाई पहिलो पटक समावेश गराउँदै छ। दुई खेलाडी भने इण्डोनेशियामा आयोजित एशियाली खेलकुद प्रतियोगितामा सहभागी भई फर्किएका छन्। विजय गौतम र विशाल थापा आर्मीको तर्फबाट पोखराको आकाशमा प्रतिस्पर्धा गर्ने रावतले बताउनुभयो। त्यस्तै यूकेश गुरुङ र सुशील गुरुङ गण्डकी प्रदेशबाट खेल्नेछन्। सविता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ गण्डकीबाट खेल्दैछन्। यी सबै खेलाडी एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

प्रतियोगिताको लागि प्रदेश–१ बाट ९ पुरुष र २ महिला गरी ११ जना, प्रदेश ३ बाट १० पुरुष र १ महिला गरी ११ जना खेलाडीले सहभागिता जनाएका छन्। गण्डकी प्रदेशबाट १० पुरुष र ३ महिला गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। कर्णाली प्रदेशबाट ४ जना पुरुष र सुदूरपश्चिमबाट ५ जना पुरुषले प्रतिस्पर्धा गर्ने नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव रावतले जानकारी दिनुभयो।

प्रतियोगिताका म्यानेजर बिमल अधिकारीका अनुसार एक्युरेसीका प्रतिश्पर्धीले स्पट ल्याण्डिङको आधारमा नम्बर पाएर हारजित हुनेछ। क्रसकन्ट्रिको भने जिपिएसको अंकलाइ मुल्यांकन गरेर बल्ल अंक टुंगो लाग्नेछ। जिपिएसको अंक मुल्यांकन गर्न हवाई खेलकुदको अन्तर्राष्ट्रिय संस्था फेडेरेसन एरोनोटिक्स इन्टरनेशनल (एफएआई) का प्राविधिकले गर्नेछन्। उहाँका अनुसार एक्युरेसीमा सबैभन्दा कम अंक ल्याउने र क्रसकन्ट्रिमा बढी अंक ल्याउने खेलाडीले विजय हात पार्छन।

‘पोखरामा उडान गरिरहेका खेलाडी आर्मीको तर्फबाट उड्न थालेकोले पनि बलियो देखिएको छ,’ उहाँले भन्नुभयो। पोखराको आकाशमा सफा मौसम हेरेर प्रत्येक दिनको टास्क तोकिने रावतले बताउनुभयो। ‘मौसम अनुसार टास्क दिनेछौ। त्यही अनुसार प्रतियोगितामा प्रतिश्पर्धा हुनेछ,’ उहाँले भन्नुभयो। प्याराग्लाइडिङको लागि विश्वकै उत्कृष्ट साहसिक गन्तव्यको रुपमा चिनिएको पोखराको सराङकोटमा आयोजित राष्ट्रिय प्रतियोगिताले साहसिक खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ।

पोखरामा झन्डै दुईदशक अघि प्याराग्लाइडिङ उडान सुरु भएको हो। यहाँ अहिले ५ दजर्न कम्प्निमार्फत दैनिक उडान भईरहेको छ। इण्डोनेशियामा आयोजित १८ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङको क्रसकन्ट्रीमा रजत पदक जितेर फर्किएपछि यो खेलले बल्ल राष्ट्रियस्तरमा चर्चा पाएको थियो।

पोखराको आकाशमा प्याराग्लाइडिङ गरिँदै। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको अभ्यास खेल शुक्रबारदेखि पोखरामा सुरु भएपनि औपचारिक प्रतियोगिता भने आज शनिबारदेखि सुरु हुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *