

नेपाली भाषा विशेषज्ञ समिति आज डिसेम्बर ११ तारिख पैचिङमा स्थापित भएको छ। चीनको संस्कृति मन्त्रालयको वैदेशिक संस्कृति सम्पर्क व्यूरो तथा पैचिङ भाषा तथा संस्कृति विश्वविद्यालयको संयुक्त सहयोगमा स्थापित चिनियाँ संस्कृति अनुवाद अध्ययन तथा समर्थन नेटवर्क (सी.सी.टी.सी.सी.) ले उक्त नेपाली भाषा विशेषज्ञ समितिको स्थापना समारोहको आयोजना गरेको हो।
स्थापना समारोहमा सी.सी.टी.सी.सी.का प्रमुख स्यु पाउ फङले चिनियाँ संस्कृतिलाई विश्वमा पुर्याउन तथा चिनियाँ तथा नेपाली संस्कृतिलाई एक अर्कामा अनुवाद गर्ने क्षमतालाई उकास्नका लागि सो नेपाली विशेषज्ञ समितिको गठन भएको जानकारी दिनुभएको छ। उक्त नेपाली विशेषज्ञ समितिमा प्रसिद्ध चिनियाँ टि.भि.श्रृंखला पश्चिमतिरको यात्राका मुख्य अनुवादक सर्वोत्तम श्रेष्ठ र राकेश ताम्राकार, चीनमा नेपाली भाषा पढाउने प्राध्यापक ह छाउ रूङ, लीन वी लगायतका चिनियाँ तथा नेपाली विशेषज्ञ रहेका छन्।
संस्था स्थापना समारोहमा सहभागी चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले २००० वर्षको पुरानो इतिहास भएको नेपाल-चीन सांस्कृतिक सम्बन्ध दुई देश बीचको सम्पर्कको एक महत्वपूर्ण भाग भएको बताउनुभयो। सांस्कृतिक सम्बन्धले जनता बीचको सम्बन्धलाई सौहार्द र बलियो बनाउने बताउँदै दुई देश बीचको सम्पर्कमा सक्दो सहयोग गर्ने वचन पनि राजदूत लिलामणि पौडेलले दिनुभएको छ।
