

प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफल गर्नका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा हुनुहुन्छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीलाई बधाई दिन नेपाल आउनुभएको हो। ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिएर दुईपक्षीय वार्ता गर्ने उहाँले बताउनुभयो। यसअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरिसकेको छ।

ओली प्रधानमन्त्री भएपछि पहिलो उच्चस्तरीय पाहुनाका रूपमा अब्बासी काठमाडौं उत्रँदै गर्दा प्रतिनिधिसभाको पहिलो बैठक बसेको छ। विशेष विमानमा ३२ सदस्यीय टोलीसहित आउन लागेका अब्बासी नेपालमा १९ घण्टा रहने कुरा प्रधानमन्त्री भ्रमणको अघिल्लो दिनमात्र परराष्ट्र मन्त्रालयले सूची सार्वजनिक गरेको थियो । पाकिस्तानको विदेश मन्त्रालयले पनि आइतबार नै विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन् ।

२०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्क सम्मेलनको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसलाई अघि बढाउन प्रधानमन्त्री अब्बासीले जोड दिने आकलन छ।

चीनको विश्वासिलो र व्यावसायिक साझेदारका कार्यकारी प्रमुख यतिबेला नेपाल आउनुलाई कूटनीतिक जानकारहरूले चासो व्यक्त गरेका छन् । नेपालमा हालै बनेको वाम गठबन्धन सरकारलाई चीन निकटका रूपमा हेरिएको अवस्थामा यो भ्रमण हुन लागेको छ ।
यसैबीच अब्बासीको भ्रमणलाई कूटनीतिक जानकारहरूले भूराजनीतिक प्रभाव र नेपालको स्वतन्त्र निर्णयसँग जोडेर हेरेका छन् । पाकिस्तानले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्दहरू आफैंमा अर्थपूर्ण रहेको समेत उनीहरूको धारणा छ । पाकिस्तान अबको सार्क सम्मेलन आयोजक मुलुक भएकाले पनि यसलाई अघि बढाउन यो भ्रमण महत्त्वपूर्ण रहनुपर्ने उनीहरूले बताए ।
पूर्वराजदूत डा. दिनेश भट्टराईले यो भ्रमणलाई असाधारण रूपमा लिन नमिल्ने भन्दै यस्तो भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुनेमात्र नभई क्षेत्रीयस्तरमा सबैलाई स्पष्ट पार्ने काम हुने बताउनुभयो। सार्कलाई गति दिन आवश्यक भएको अवस्थामा यो भ्रमण सकारात्मक रहेको उहाँले बताउनुभयो।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख डा. खडग केसीले नेपालबाट पहल नभए पनि पाकिस्तान आफैं बधाई दिन आएको बताउनुभयो। पूर्वप्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका कूटनीतिक जानकार मिलन तुलाधरले यस्तो आश्चर्यजनक भ्रमण हुन आवश्यक रहेको बताउनुभयो।