

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यावदका अनुसार रूकुम पश्चिमको बाफिकोट गाउँपालिका ५, रत्न मावि (क) मतदान केन्द्र र सोही जिल्लाको आठ बीसकोट न.पा. ११ स्थित राष्ट्रिय मावि गत्तसैना (ख) मतदान केन्द्रमा मतपेटिकामा केही समूहले आगजनी गरेपछि मतदान स्थगित भएको हो। यी दुवै ठाउँमा चाँडै पुनः मतदानको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभएको छ।

मतदानमा उत्साहजनकरूपमा भएको सहभागिताबाट संविधानको कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत र राजनीतिक स्थायित्वका लागि नेपाली जनता प्रतिबद्ध रहेको पुष्टि भएको प्रमुख आयुक्त यावदले बताउनुभयो।
मतदान सम्पन्न भएपछि सबै मतपेटिका सुरक्षित ढङ्गबाट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलनको काम भइरहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले सङ्कलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने बताउनुभयो।

दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते सम्पन्न भए लगत्तै सोही साँझबाट मतगणनाको काम सुरू हुने जानकारी पनि उहाँले दिनुभयो।
मतदानका क्रममा केही छिटफुट र सामान्य घटनाबाहेक सबै ठाउँमा शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न भएको भन्दै आयोगले सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी भएको जनाएको छ।
निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारीको आयोगले उच्च प्रसंशासमेत गरेको छ। निर्वाचनमा सघाउने मित्रराष्ट्र, दातृ निकाय, विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदाय, पर्यवेक्षक, नागरिक समाज, मतदाता, सञ्चारकर्मी सबैलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ। पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि अब आयोगको सबै ध्यान मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो।
