

राष्ट्रिय योजना आयोगले इलेक्ट्रिक कार खरिद गरेको छ। यो सरकारी स्रोतबाट खरिद गरिएको पहिलो विद्युतीय सवारी साधन भएको आयोगको भनाइ छ। आयोगका उपाध्यक्ष स्वणिर्म वाग्लेका अनुसार यसअघि विदेशी सहायतामा सरकारलाई विद्युतीय सवारी साधन उपलब्ध भएको थियो। अहिले भने सरकारी खर्चमै खरिद गरेको हो, जसको मूल्य ६० लाख रुपैयाँ परेको छ। विद्युतीय सवारी साधन चार्ज गर्न आयोग परिसरमा चार्जिङ स्टेसनसमेत जडान गरिएको अनलाइन खबरले जनाएको छ।
आयोगले बीवाईडी कम्पनीको ई-सिक्स-४०० मोडेलको कार खरिद गरेको हो । उक्त कार चार्ज गर्न दुई घण्टा लाग्छ, जसबाट चार सय किलोमिटरको माइलेज दिन्छ। नेपालमा विद्युत उत्पादन बढ्दो क्रममा छ। धेरै आयोजना निर्माणाधीन छन्। तामाकोशी जलविद्युत आएसँगै वषर्ायाममा उत्पादित बिजुली घरेलु मागभन्दा बढी हुनेछ। विद्युत प्राधिकरणले पनि विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्ने नीति लिएको छ।

आयोगले खरिद गरेको कारको ब्याट्री ‘नन-टक्सिक’ रहेको कम्पनीको दाबी छ । त्यसले वातावरणमा कुनै असर नपार्ने कम्पनीको भनाइ छ। कारको उद्घाटनमा पुगेका सांसद रविन्द्र अधिकारीले अब स्वदेशमै यसखाले कारको उत्पादन थाल्नुपर्ने बताउनुभयो। त्यसबाट व्यापार घाटा कम हुने मात्र नभई रोजगारीको अवसर पनि सिर्जना हुने सांसद अधिकारीको भनाइ छ।
