पशुपतिमा चार हजार जोगी, १२ लाख दर्शनार्थी

ram naam satya

महाशिवरात्रिमा करिब १२ लाख दर्शनार्थी आउने अनुमानसहित पशुपति क्षेत्र विकास कोषले सोहीअनुरूप तयारी गरेको छ। करिब एक हजार जोगी र साधुसन्त पाशुपत क्षेत्रमा आइसकेको र आज सोमबारसम्म यो संख्या चार हजार पुग्ने कोषको भनाइ छ। महाशिवरात्रि पर्व व्यवस्थापनका लागि करिब ५२ लाख रुपैयाँ खर्चिने कोषले जानकारी दिएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

यसपटक करिब १२ लाख दर्शनार्थी आउने कोषका सदस्यसचिव प्रदीप ढकालले बताउनुभयो। ‘साधुसन्त र जोगीको संख्या चार हजारसम्म पुग्नेछ’, उहाँले भन्नुभयो, ‘आवश्यक सबै तयारी पूरा भएको छ। कोषले शिवरात्रिका लागि ५२ लाख रुपैयाँ छुट्याएको छ।’ यस वर्षदेखि महाशिवरात्रिका अवसरमा गाँजा, भाङ, धतुरोलगायत कुनै पनि प्रकारका लागूपदार्थ प्रयोगमा निषेध गरिएको छ।

महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको छ। बत्तीसपुतली, गौशालाबाट आउने दर्शनार्थीलाई पिंगलास्थान, सुमार्गी भवन, चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। एयरपोर्टतर्फबाट आउनेका लागि तिलगंगा, पिंगलास्थान हुँदै सोही लाइनबाट मन्दिर पुग्ने व्यवस्था गरिएको छ।

गुहेश्वरीबाट आउने दर्शनार्थीका लागि गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकीनाथ हुँदै उत्तरढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। चाबहिलबाट आउने मित्रपार्क, जयवागीश्वरी, भुवनेश्वरी हुँदै फलामे ढोकाबाट पश्चिमको मूलढोका छेउबाट प्रवेश गर्नेछन्। सिफल जयवागीश्वरीबाट आउने पनि सोही रुट भएर पश्चिमको मूलढोका छेउबाट प्रवेश गर्नेछन्। पूजाअर्चनापछि दर्शनार्थीलाई पश्चिम ढोकाबाट वनकाली हुँदै गौशाला निस्कने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ।

वनकालीस्थित हंसमण्डप र तिलगंगा क्षेत्रमा दर्शनार्थीलाई निःशुल्क आवास र भोजनको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले बताउनुभयो। ‘शिवरात्रिका लागि पाशुपत क्षेत्रमा डाक्टर, नर्स र एम्बुलेन्सको सुविधासहितका स्वास्थ्य शिविर सञ्चालन हुनेछन्’, उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकासँग मिलेर घुम्ती शौचालय सञ्चालन गरेका छौं।’ दर्शनार्थीलाई बहुमूल्य गरगहना नलगाउन र अमूल्य सामान साथमा नल्याउन कोषको प्रचारप्रसार व्यवस्था उपसमितिका सहसंयोजक एवं कोषका अधिकृत रेवतीरमण अधिकारीले अनुरोध गर्नुभयो। ‘पाशुपत क्षेत्रमा प्लास्टिकका झोला, कप, प्लेट आदिसमेत निषेध गरिएको छ’, उहाँले भन्नुभयो, ‘दूध र गंगाजल ल्याउँदा टुटफुट हुने भएकाले सिसाका सामग्रीसमेत ल्याउन पाइँदैन।’

स्वयंसेवी संघसंस्थाले भने निःशुल्क भोजनका लागि तिलगंगा, चार शिवालय दक्षिण, भण्डारखाल र सिफल चौरमा शिविरको व्यवस्था गरेका छन्। कोषले सोही क्षेत्रमै भजनकीर्तन र धार्मिक कार्यक्रम गर्न ठाउँ छुट्याएको छ। कार्यक्रमअन्तर्गत सोमबार साँझ भक्तिसंगीतको विशेष कार्यक्रम सञ्चालन हुँदै छ। कोषले दर्शनार्थीलाई कुनै समस्या परे वा महाशिवरात्रिबारे जानकारी लिन १६१८०१२४३०५७५ डायल गरी नोटिस बोर्डमा सम्पर्क गर्न सकिने व्यवस्थासमेत गरेको छ। पासवाला सवारीसाधन, दर्शनार्थी र विदेशी पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरिएको छ।

गोठाटार, जोरपाटी, मूलपानी वा गोकर्णबाट आउनेलाई गुह्येश्वरीपारि, पर्व व्यवस्थापनसँग सम्बन्धित कर्मचारीलाई कोषको कार्यालय र भण्डारखाल, पासवाला सुरक्षा निकाय र सरकारी वाहनलाई महानगरीय प्रहरी वृत्त गौशाला र दर्शनार्थीका सवारीसाधन र स्थानीयका लागि सिफलमा पार्किङको व्यवस्था मिलाइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *