नौ महिनामा नेपालको व्यापार घाटा १० खर्ब

नौ महिनामा नेपालको व्यापार घाटा १० खर्ब

ram naam satya

नेपालको चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको अन्नपूर्ण अनलाइनले लेखेको छ। अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ। चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ छ।

अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो। सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमानअनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुनेछ।

सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न सकेको छैन। सवारीसाधनमा २२९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारीसाधन आयात निरुत्साहित गरेको छैन।

नेपाल राष्ट्र बैंकले दुई वर्षअघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो। विकास खर्चतर्फको रकम भने मूल्य अभिवृद्धिमा उपयोग हुन्छ। संघीय संरचनाअनुसार तीन तहको सरकार गठनसँगै तल्लो तहका सरकारमा सवारीसाधन खरिद फेसन बनेको छ। नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पुँजी निर्माण गर्ने प्लान्ट, मेसिनरी प्रविधि, हवाईजहाजजस्ता आयातले अर्थतन्त्रको उत्पादनशील क्षमता वृद्धि गर्ने बताउनुहुन्छ। ‘तर उपभोग्य वस्तु आयातबाट व्यापार घाटा चुलिँदा त्यसले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नुका साथै शोधनान्तर थप ऋणात्मक भई बाह्य क्षेत्र स्थायित्वमा दबाब सिर्जना हुन्छ,’ उहाँले भन्नुभयो, ‘बैंक–वित्तीय संस्थामा तरलतामा दबाब हुन्छ।’

उहाँले आगामी बजेटले तत्काल उत्पादन वृद्धिमा जोड दिएर सम्भव हुने वस्तुको आयात प्रतिस्थापन गर्नेमा केन्द्रित गर्नुपर्ने बताउनुभयो। ‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समयमा सम्पन्न गर्नसके भारतबाट बिजुली आयात गरिरहनुपर्ने बाध्यात्मक अवस्था रहँदैन,’ उहाँले भन्नुभयो, ‘विद्युत् उत्पादन बढाएर पेट्रोलियम प्रयोगलाई कम गर्ने उपाय हेर्नुपर्छ।’

आगामी बजेटले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, उत्पादनमा अनुदान दिएर पूर्वाधार विस्तार गरेर या प्राविधिक सहयोग दिएर उत्पादन बढाउनुपर्ने उहाँको सुझाव छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म कुल १० खर्ब ६१ अर्ब रुपैयाँ आयात भएको छ। निर्यात करिब ७० अर्ब रुपैयाँ हाराहारीमा छ। आयातनिर्यातको हिस्सा विश्लेषण गर्दा नेपालले १ रुपैयाँ मूल्यको वस्तु निकासी गर्दा १५ रुपैयाँ २० पैसा बराबरको वस्तु आयात गरिरहेको हुन्छ।

यस अवधिमा आयात भएका प्रमुख वस्तु पेट्रोलियम हो। पेट्रोलियम आयातमा मुलुकबाट एक खर्ब ८२ अर्ब बाहिरिएको छ। त्यस्तै, एक खर्ब ८ अर्बको फलाम र स्टिल, ९० अर्ब जतिको मेसिनरी, ७० अर्बको सवारीसाधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको छ।

निर्यातमा भने पहिलो सूचीमा पामको तेल छ। यस अवधिमा ७ अर्ब ३४ करोड रुपैयाँको पामको तेल निर्यात भएको छ। ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टिलका सामग्री निर्यात भएको छ।

यो अवधिमा प्रमुख व्यापार साझेदार भारत र चीनबाट हुने आयातको हिस्सा कुल आयातको क्रमशः ६४.८ र १४.५ प्रतिशत छ भने कुल निकासीमध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *