

नेपालमा पर्यटकस्तरका होटलको संख्या २ हजार ५ सय १ रहको समेत पाइएको छ। विगतमा १५ देखि १७ लाख पर्यटकमात्रै धान्नसक्ने अवस्थामा होटलहरू रहेको बताउँदै आउने गरेको भए पनि पछिल्लो समय देशभरका ५७ जिल्लामा गरिएको अध्ययनमा यस्तो पाइएको हो। नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागसहित नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा नेपालमा होटलहरूको संख्याले तत्काल २५ लाखभन्दा बढी पर्यटक धान्नसक्ने क्षमता रहेको पाइएको छ। सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७३-७४ मा मात्रै ६ हजार १ सय ८८ वटा रुम थपिएको छ। काठमाडौं बाहिरका अधिकांश होटल तथा लजहरू आन्तरिक पर्यटकले धानिँदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ। सर्वेक्षणअनुसार पछिल्लो वर्षमात्रै होटलमा लगानी ९.९७ प्रतिशतले बढेको छ।
राष्ट्रबैंकले मुख्यतः काठमाडौं, विराटनगर, नेपालगन्ज, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, धनगढीसहित ५७ जिल्लामा सर्वेक्षण गरेको थियो। राष्ट्रबैंकले गरेको सर्वेक्षण र होटल एसोसिएसनको सर्वेक्षण करिब उस्तै रहेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाह बताउनुहुन्छ। “होटलहरूमा पर्याप्त लगानी भइसकेको छ, अब विमानस्थलमा र सडकमा सरकारको लगानी आवश्यक छ,” शाहले भन्नुभयो। उहाँका अनुसार नेपालमा सन् २०२० सम्ममा थप ४ हजार कोठाहरू पनि थपिँदै गरेको छ। हालसम्म नेपालका होटलहरूमा २ खर्ब ३० अर्ब रूपैयाँ लगानी भएको र सन् अहिले थप ३० अर्ब रूपैयाँ लगानी भइरहेको अनुमान हानको छ।

सन् २०१७ को १० महिनामा ७ लाख ५० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। उक्त संख्या २०१७ मा १० लाख पुग्ने र हालसम्मकै सवैभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ। पर्यटक आगमनदर बढे पनि एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण भने समस्या आउने देखिन्छ। तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार त्रिभुवन विमानस्थले नै सजिलै १५ लाख पर्यटक धान्नसक्ने दावी गर्दछन्। “अहिले जहाजहरू ५२ प्रतिशत मात्रै यात्रु लिएर उडेका छन्, बाँकी ४८ प्रतिशत थपिनेवित्तिकै १५ लाख पर्यटक धान्न सक्छ,” न्यौपानेले भन्नुभयो।
राष्ट्र बैंकको तथ्यांकअनुसार काठमाडौंमा मात्रै ७ सय ५० होटलका २७ हजार ३ सय ७१ रुम संख्या उपलबध रहेको जनाएको छ। उक्त सर्वेमा ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, धुलिखेललगायत यस क्षेत्र समेटिएको छ। यस्तै, पोखरामा ८ सय १ होटलका १७ हजार २९ वटा रुम रहेको छ। कास्कीसहित, तनहँु, लमजुङ, गोरखा, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ क्षेत्र समेटिएको छ। वीरगन्जमा पनि ४ सय ९४ पर्यटकस्तरका होटलमा १३ हजार ४ सय ९६ रुम रहेका छन्। त्यस्तैगरी, नेपालगन्जमा १ सय ६९ होटलमा ४ हजार २ सय ७४ रुम रहेका छन्। विराटनगरमा १ सय ५१ होटलमा २ हजार ७ सय ५९ रुम रहेका छन्। त्यस्तैगरी जनकपुरमा ४६ होटलमा १ हजार ३ सय ८० रुम रहेका छन्। भने धनगढीमा ३८ होटलमा १ हजार १ सय १६ रुम रहेका छन् भने भैरहवामा ५२ होटलमा १ हजार ९ सय ३० वटा रुम छन्।

