नेपालस्थित म्यानमारी आप्रवासीलाई फिर्ता गर्न त्यहाँका सेना प्रमुखलाई आग्रह

ram naam satya
(GMT+08:00) 2017-12-12 17:53:13

        रक्षामन्त्री भिमसेनदास प्रधानले अवैध आप्रवासीका रुपमा नेपालमा बस्दै आएका म्यानमारका नागरिकहरूलाई स्वादेश फर्काउन पहल गर्न त्यहाँका सेना प्रमुखलाई आग्रह गर्नुभएको छ। नेपाल भ्रमणमा रहेका म्यानमारका सेना प्रमुख मिन अउङ लाइङसँगको छलफलमा रक्षामन्त्री प्रधानले रोहिंग्या मुस्लिम समुदायतर्फ इंगित गर्दै नेपालमा अवैध रुपमा बस्दै आएका म्यानमारका नागरिकहरूको समस्या समाधान गर्न आग्रह गर्नुभएको हो।

रक्षामन्त्री प्रधानले रोहिंग्या मुस्लिम शब्द प्रयोग नगरी नेपालमा रहेका म्यानमारका अवैध आप्रवासीको समस्या समाधान गर्न सेना प्रमुख जनरल लाइङलाई आग्रह गरेको स्रोतले बताएको छ। प्रधानले जनरल लाइङसँगको छलफलमा रोहिंग्या मुस्लिम नभनी उनीहरूलाई ‘इलिगल इमिग्रेन्ट’ भनी सम्बोधन गर्नुभएको थियो। रक्षामन्त्री प्रधानले जनरल लाइङसँगको भेटमा नेपालमा रहेका म्यानमारका ‘इलिगल इमिग्रेन्ट’को बारेमा छलफल भएको पुष्टि गर्नुभयो।

मन्त्री प्रधानले राखेको जिज्ञासाको जवाफ दिन केही अप्ठ्यारो महसुस गरेका जनरल लाइङले दिएको संक्षिप्त जवाफ उदृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो देशमा पूर्ण प्रजातन्त्र छैन। यहाँले उठाउनु भएको समस्याको बारेमा हामी बिस्तारै समाधान गर्दै जान्छौ।’

रोहिंग्याहरुको बारेमा बृहत कुरा उठाउने तयारी गरेर रक्षामन्त्री प्रधान छलफलमा सहभागी भएपनि म्यानमारका सेना प्रमुख जनरल लाइङले रोहिंग्याको बारेमा केही कुरा उठाउनुभएन। रक्षामन्त्री प्रधानले छलफलका क्रममा ‘इलिगल इमिग्रन्ट’ भन्दै रोहिंग्याको विषयमा कुरा उठाएको अन्नपूर्ण पोस्टमा खबर छ।

जनरल लाइङले रोहिंग्याको बारेमा छलफल गर्न अप्ठ्यारो महसुस गरेपछि छलफल द्विपक्षीय सैनिक सहयोगमा केन्द्रित भएको थियो। जनरल लाइङले सोमबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट गर्नुभयो।

काठमाडौंको कपनमा म्यानमारबाट विस्थापित भएका रोहिंग्याहरू शिविर बनाएर बसिरहेका छन्। पछिल्लो पटक म्यानमारको राखिन क्षेत्रमा सैनिक कारबाहीबाट विस्थापित भएका रोहिंग्या मुस्लिमहरू समेत बंगालादेशबाट भारत हुँदै नेपाल आएका कपन शिविरमा आएर बसेका छन्। म्यान्मार सरकारले उत्तरी राखिन क्षेत्रबाट रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेका थिए।

नेपालको रोक्ने नीति भए पनि भारतसँगको खुला सीमाको फाइदा उठाउँदै म्यान्मारबाट विस्थापित रोहिंग्या मुस्लिमहरू बंगलादेश हुँदै नेपाल प्रवेश गर्दै आएका छन्। अध्यागमन विभागले नेपाल छिर्ने क्रममा वीरगञ्ज र काकरभिट्टा नाकाबाट ८ जना रोहिंग्या मुस्लिमलाई भारततर्फ ‘इन्ट्री रिफ्युज’ गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा समेत नेपालमा बस्दै आएका रोहिंग्या मुस्लिमहरूलाई फिर्ता लैजाने बारेमा केही छलफल भएन।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवा र लाइङबीच द्विपक्षीय हित र सैनिक सहयोगका बारेमा मात्र छलफल भएको छ। नेपाली सेनाको औपचारिक निमन्त्रणामा म्यानमारका सेना प्रमुख लाइङ आइतबार काठमाडौं आउनुभएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *