

(GMT+08:00) 2017-11-30 14:57:09
नेपालले विश्व व्यापार संगठन (डब्लुटिओ)बाट अपेक्षित फाइदा लिन नसकेको सम्बन्धित विज्ञहरू बताएका छन्। डब्लुटिओको सदस्य भएको १५ वर्ष पुग्दा पनि मुलुकले कुनै फाइदा लिन नसकेको विज्ञहरूको धारणा छ। मंगलबार राजधानीमा वाणिज्य मन्त्रालयले विश्व व्यापार संगठनको ११औं मन्त्रीस्तरीय सम्मेलन तयारीको सन्दर्भमा गरेको कार्यक्रममा अतिकम विकसित राष्ट्रको हैसियतले पनि नेपालले फाइदा लिन नसकेको सहभागीहरूले बताए।डिसेम्बर १० देखि १३ सम्म अर्जेन्टिनामा विश्व व्यापार संगठनको ११औं मन्त्रीस्तरीय सम्मेलन हुन लागेको छ। उक्त सम्मेलनको पूर्वसन्ध्यामा सरकारले त्यसको तयारीका लागि गोष्ठी आयोजना गरेको थियो।

‘डब्लुटिओको सदस्य भएको १५ वर्ष भइसकेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘अब हामीले यसमा हुँदाको फाइदा र बेफाइदाबारे छलफल गर्नुपर्छ।’

विश्व व्यापार संगठनमा प्रवेश गरेसँगै मुलुकमा सुरु संक्रमणकाल, व्यवसायमा अत्यधिक राजनीतीकरण, बिग्रँदो श्रम सम्बन्ध, चर्को ऊर्जा संकट, कमजोर पूर्वाधार लगायत कारणले मुलुक अन्तरिक रुपमा झन् कमजोर हुन पुग्यो।

मुलुकले लामो समयसम्म छिमेकी देशको गैरकानुनी नाकाबन्दी भोग्नु परे पनि त्यसलाई डब्लुटिओ जस्तो फोरममा कुरा उठाउन नसक्नु मुलुकको कमजोरी भएको गोल्छाले बताउनुभयो। पूर्वसचिव पुरुषोत्तम ओझाले भने डब्लुटिओबाट के लियौं र दियौंभन्दा पनि यसलाई एक सम्झौतास्थलका रुपमा लिनुपर्ने धारणा राख्नुभएको नागरिकन्यूज डटकमले लेखेको छ।