नेपालमा वैदेशिक लगानीमा उत्साहजनक वृद्धि

ram naam satya

नेपालमा नयाँ सरकार बनेपछि राजनीतिक स्थायित्वसँगै लगानीकर्तामा बढेको आत्मविश्वासले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा वृद्धि भएको छ। आर्थिक वर्ष २०७४/७५ मा इक्विटीबापत भित्रिएको वैदेशिक लगानी रकमको तुलनामा चालू आव २०७५/७६ को आठ महिनाभित्रै उच्च वृद्धि देखिएको गोरखापत्र अनलाइनले लेखेको छ।चालू आवको दोस्रो चौमास फागुन मसान्तसम्म अघिल्लो आवको भन्दा ८० प्रतिशत बढी लगानी भित्रिसकेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ। यही गति मात्रै पनि नियमित हुने हो भने बाँकी चार महिनामा अझ उच्च मात्रामा वैदेशिक लगानी भित्रने छ।

गत आवमा इक्विटिबापत विदेशी लगानीकर्ताले राष्ट्र बैङ्कमा आठ अर्ब छ करोड रुपियाँ नेपाल ल्याएका थिए। चालू आवमा फागुन मसान्तमै १४ अर्ब ५६ करोड रुपियाँ वैदेशिक लगानी नेपाल आएको केन्द्रीय बैङ्कको तथ्याङ्कमा उल्लेख छ।

वैदेशिक लगानी बढे पनि वैदेशिक ऋण भने सामान्य नै रहेको छ। गत आवमा साढे पाँच अर्ब रुपियाँ ऋण भित्रिएकामा यो आवको आठ महिनामा चार अर्ब ७४ करोड रुपियाँ भित्रिएको छ।

राष्ट्र बैङ्क विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुङ्गानाका अनुसार पछिल्ला वर्ष विदेशी लगानी भित्र्याउन सरकारले विभिन्न पहल गरेको छ। तिनै पहलका कारण पनि वैदेशिक लगानी वृद्धि उत्साहजनक देखिएको उहाँको भनाइ छ। “राष्ट्र बैङ्कले पनि विभिन्न सुधार गरेको छ र सरकारका पहल त भइनै गयो, त्यसैले वैदेशिक लगानी बढ्नेक्रम देखिएको हो,” उहाँले थप्नुभयो। “परिमाणमा अहिले थोरै होला तर प्रवृत्तिका हिसाबले यसलाई उत्साहजनक मान्नुपर्छ। ऋणका रूपमा भित्रने भन्दा इक्विटीको गति बढ्नु अझ सकारात्मक हो। ”

गत आवमा १७६ कम्पनीले साढे २४ अर्ब रुपियाँ इक्वीटीका रूपमा भिœयाउन राष्ट्र बैङ्कबाट विदेशी लगानी स्वीकृति लिएका थिए। चालू आवको फागुनसम्म २१८ कम्पनीले १३ अर्ब ९० करोड रुपियाँ बराबरको यस्तो स्वीकृति लिएका छन्।

विदेशी विनिमय विभागसँग निश्चित अवधि तोकेर रकम भिœयाउने स्वीकृति लिनुपर्ने हुन्छ। सो अनुसार भित्रिएपछि सोही विभागमा लेखाङ्कन हुन्छ। चालू आवमा ५९ कम्पनीका लागि मात्र १४ अर्ब ५६ करोड रुपियाँ बराबर विदेशी मुद्रा भित्रिएको हो।

गत चैतमा सम्पन्न लगानी सम्मेलनको अघि नै सरकारले सार्वजनिक निजी साझेदारी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायतका कानुनी सुधार गरिसकेको छ। त्यस्तै ठूला आयोजनाको नेतृत्व लिने गरी लगानी बोर्डलाई पनि थप सक्रिय पारिएको छ।

लगानी सम्मेलनमार्पmत नेपाललाई वैदेशिक लगानीको सुरक्षित र लाभदायी गन्तव्यका रूपमा लगानीकर्तालाई आश्वस्त पनि पारिएको छ। त्यस अवधिसम्मको तथ्याङ्कमा यी घटनाक्रमको प्रभाव भने परेको छैन। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार लगानीमैत्री वातावरणको प्रभावका कारण लगानी वृद्धिको गतिमात्र होइन परिमाणमा पनि ठूलो अन्तर आउन लागेको छ।

“लगानी सम्मेलनपछि पनि नेपालमा लगानी गर्न धेरै विदेशी इच्छुक छन्। “लगानी सम्मेलनपछि विभिन्न ठूला र रणनीतिक परियोजनामा लगानीका लागि भइरहेका छलफल तथा आशयपत्र आउने क्रमले हामीलाई उत्साही बनाएको छ,” उहाँले थप्नुभयो, “ती परियोजनाले मूर्तरुप पाउने अवस्थामा नेपालले ठूलो मात्रामा विदेशी मुद्रा देशभित्र ल्याउन सक्ने छ। ”

बोर्डमा चैत १५ पछिमात्रै करिब २५ खर्ब रुपियाँ लागतका ३१ विभिन्न परियोजनामा लगानी गर्न ४८ लगानीकर्ताले आशयपत्र दर्ता गरेका छन्। जेठ पहिलो सातासम्म यस्तो आवेदन अवधि निर्धारण गरिएकाले यो सङ्ख्या बढ्नेछ। उद्योग विभागबाट चालू आवको चैत मसान्तसम्म २६८ योजनामा ११ अर्ब ५७ करोड ३९ लाख रुपियाँ बराबरको वैदेशिक लगानी ल्याउने गरी स्वीकृति लिएका छन्। ती योजनाबाट नौ हजारभन्दा बढी रोजगारी सिर्जना हुने विभागले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *