नेपालमा बिजुली मागभन्दा उत्पादन बढी हुने

ram naam satya
 आउँदो वर्षकै बर्षा यामदेखि नेपालमा बिजुली मागभन्दा बढी हुने भएको छ। तर, हिउँदमा भने अझै ५ वर्ष बिजुली अभाव हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको कारोबार अनलाइनले लेखेको छ। चालू वर्षको बर्षामा समेत भारतबाट विद्युत् आयात गरेको प्राधिकरणले हालै गरेको प्रक्षेपणले भने आगामी बर्षामा विद्युत् बढी हुने देखाएको हो। सन् २०१८-१९ मा मात्र बर्षाको समयमा ४ सय ४१ मेगावाट विद्युत् बढी हुने प्रक्षेपणमा उल्लेख छ। प्रक्षेपण अनुसार विद्युत्को माग १ हजार ८ सय ४२ मेगावाट हुनेछ भने आपूर्ति २ हजार २ सय ८३ मेगावाट हुनेछ।

        निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै प्राधिकरण र निजी क्षेत्रबाट आउने बिजुलीको कारण बिजुली बढी हुने ठहर प्राधिकरणको छ। त्यसैगरी बर्षाहरूमध्ये २०१९-०२० मा ६ सय ६१ मेगावाट, २०२०-०२१ मा ९ सय ४६ मेगावाट, २०२१-०२२ मा ९ सय १ मेगावाट तथा २०२२-०२३ मा ६ सय ७० मेगावाट विद्युत् बढी हुने प्राधिकरणको प्रक्षेपण छ।

गत बर्षामा समेत ५ करोड बराबरको बिजुली भारतलाई बेचिएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बर्षामा बिजुली बढी हुने र हिउँदमा भने अझै पनि अभाव हुने बताउनुभयो। “माथिल्लो तामाकोसी र अहिलेको अवस्था अनुसार निजी क्षेत्रका आयोजनाहरू निर्माण हुँदा बर्षामा बिजुली बढी हुने र हिउँदमा भने अझै अभाव हुने देखिएको छ,” घिसिङले भन्नुभयो, “बर्षामा बढी भएको बिजुली छिमेकी राष्ट्र भारतमा बेच्ने र हिउँदमा किन्नुपर्ने अवस्था आउने हुनाले इनर्जी बैंकिङको कुरा अघि बढाएका छौं।”

प्रक्षेपणले आगामी पाँच वर्षसम्म भने विद्युत् अभाव हुने देखाएको छ। जसअनुसार २०२२-२३ को हिउँदमा समेत ३ हजार ३ सय ६५ मेगावाट विद्युत् माग पुगे पनि २ हजार ७९ मेगावाट मात्र आपूर्ति हुनसक्ने तथा यसको कारणले ६ सय ७० मेगावाट अभाव हुने देखिएको छ।

२०२१-२२ मा ३ हजार ६२ मेगावाट माग हुने र आपूर्ति भने २ हजार ५५ मेगावाटमात्र हुनेछ भने २०२०-०२१ मा माग २ हजार ६ सय ३८ मेगावाट पुग्ने र आपूर्ति भने १ हजार ९ सय २८ मेगावाट हुनेछ। यस्तै, सन् २०१९-०२० मा २ हजार २ सय २५ मेगावाट पुग्ने र आपूर्ति भने १ हजार ६ सय ८६ मेगावाट मात्र हुने तथा सन् २०१८-०१९ मा १ हजार ८ सय ४२ मेगावाट माग पुग्ने तथा आपूर्ति भने १ हजार ४ सय ७० मेगावाट हुने प्राधिकरणले प्रक्षेपण गरेको छ।

अहिले भने विद्युत्को माग १ हजार २ सय ८० मेगावाट माग रहेकोमा तीन सय मेगावाट अभाव छ। हाल प्राधिकरणले भारतबाट ३ सय मेगावाट आयातसमेत गरिरहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *