नेपालमा बर्डफ्लुबाट पहिलो पटक एकजनाको मृत्यु, सतर्कताका लागि अनुरोध

ram naam satya

पंक्षीबाट सर्ने बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा पहिलो पटक एक युवाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले काभ्रे घर भएका २१ वर्षीय युवकको ‘इन्फ्लुएन्जा एचफाइभ एनवान’ को सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्डफ्लुपछि युवकको मृत्युपछि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। उच्चज्वरो र रुघाखोकी नियन्त्रणमा नआएपछि युवकको र्याल परीक्षणका लागि शुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा पछि जापानस्थित विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा परीक्षण गराउँदा एचफाइभ एनवान भाइरस फेला परेको ‘मेडिकल रिपोर्ट’ मङ्गलबार प्राप्त भएको गोरखापत्र अनलाइनले जनाएको छ।

उच्च ज्वरो र रुघाखोकी बढेपछि राजधानीको एक अस्पतालमा ती युवकको मृत्यु भएको हो। मृतकको नाम गोप्य राखिएको छ। मन्त्रालयका अनुसार ‘एचफाइभ एनवान भाइरस’बाट सङ्क्रमित व्यक्तिको मृत्यु भएकाले अन्य सर्वसाधारणलाई पनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। रुघाखोकी लाग्दा वा ज्वरो आउँदा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न र हाछ्यू गर्दा सफा रुमालले मुख छोप्न आग्रह गरेको छ। त्यस्तै, सर्वसाधारणको बाक्लो भीडभाड हुने क्षेत्रमा नजान, कुखुरा तथा पक्षीजन्य मासुको परिकार र अण्डा खाँदा सचेत रहन आग्रह गरिएको छ। सन् १९९६ मा पहिलो पटक पत्ता लागेको यो भाइरस नेपालमा भने १० वर्षअघि घरपालुवा पक्षीहरूमा देखिएको थियो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनाको एच फाइभ एन वान भाइरसको सङ्क्रमण भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *