

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान भैरहेको छ। ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान भएको हो। मतदानको समय विहान ७ बजेबाट साँझ ५ बजेसम्म तोकिएको निर्वाचन आयोगले जनाएको छ।

संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव भएको हो। आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन्।

यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन्। प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन्। प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातासँग आग्रह गर्नुभएको छ।

३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन्। पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।
समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ।