नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषणको चिनियाँ तयारी

ram naam satya

चीनले नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषणको तयारी थालेको छ । चैत ०७२ मै यससम्बन्धी द्विपक्षीय सम्झौता भइसकेको छ । आगामी मार्चमा चिनियाँ विज्ञको टोली नेपाल आउने तय भएको छ । खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार टोलीमा नेसनल चाइना पेट्रोलियम कर्पोरेसन (एनसीपीसी)का विज्ञहरु सम्मिलित रहनेछन् । अनलाइनखबरका अनुसार पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी संस्था हो, एनसीपीसी।

विभिन्न क्षेत्रमा तेल र ग्यासको उत्खनन् सम्भाव्यताबारे चिनियाँ टोलीले अनुसन्धान गर्नेछ। यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो।

चिनियाँ टोली काठमाडौं ओर्लिने मिति भने तय हुन बाँकी रहेको विभागका महानिर्देशक राजेन्द्र खनाल बताउँछन् । तीन दशकअघि नै पेट्रोलियम खानीको अन्वेषण थालेको थियो, विभागले । प्रचुर सम्भावनाका बावजुद विज्ञता, प्राविधिक र दक्ष जनशक्ति अभावमा यसबारे विस्तृत अनुसन्धान हुन सकेको छैन। सरकारले नै यस विषयमा गम्भीर चासो देखाएको पाइँदैन । संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि मात्रै तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्र्याउन पहल गरेको थियो।

सोही पहलको परिणाम थियो, चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुनु । त्यसैमा टेकेर चिनियाँ टोलीले वैशाख ०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो । त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषणमा सरकारले चासो दिएको छैन।

अबको अन्वेषणले कम लागतमा पेट्रोलियम उत्खनन् गर्न सकिने क्षेत्र पहिल्याउने छ । उत्खनन् लागतअनुसार चिनियाँ टोलीले व्यावसायिक उत्पादनको सम्भाव्यता यकिन गर्ने महानिर्देशक खनालले जानकारी दिनुभयो।

यसैबीच नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृंखलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन्।

पाकिस्तानले चुरे पर्वत शृंखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृंखलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम निकालिरहेको छ। अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ। काठमाडौंलगायत धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यास निस्किरहेको छ।

यी उदाहरणले नेपालको पेट्रोलियम सम्भावनालाई औंल्याएका छन् । दैलेखकै श्रीस्थानमा जमिनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । र, त्यो करिब तीन सय वर्षदेखि बलिरहेको छ । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *