

विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ। नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने सो महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्ना मौलिक संस्कृति प्रस्तुती गर्ने छन्। महोत्सवमा रु ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
गोरखापत्र अनलाइनका अनुसार विदेशी कलाकारलाई नेपाल भित्र्याउने, नेपालको कला संस्कृतिलाई देश विदेशमा पुर्याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव गर्न लागिएको आयोजक कल्चर मिडिया हाउसले जनाएको छ।
नेपाली मौलिक संस्कृति विदेशी कलाकारमार्फत् विश्वभर फैलाउने र विदेशी मौलिक संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालमा नौलो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा लोक गायक दीपक खड्काले जानकारी दिनुभयो।

आफ्नो मौलिक संस्कृति देखाउने र पर्यटनका लागि नेपाललाई चिनाउनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण छ । मगर, गुरुङ, थारु, तामाङलगायत नेपालका विभिन्न जातजातिका मौलिक संस्कृतिलाई महोत्सवमा समावेश गरिने छ।
