

नेपालभरका विमानस्थलले ७ अर्ब ४० करोड ४७ लाख ८ हजार २ सय ९२ रुपैयाँ आम्दानी गरेका छन्। देशका ५६ विमानस्थलमध्ये ३२ वटा विमानस्थलमा मात्रै उडान तथा अवतरण हुने गरेका छन्। जसमध्ये आधा दर्जन विमानस्थलमात्र नाफामा सञ्चालन हुने रहेका कारोबार अनलाइनले लेखेको छ। बाँकी सबै विमानस्थलको खर्च केन्द्रबाट पठाउने बजेटबाट धानिने गरेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार आम्दानीको सबैभन्दा ठूलो हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै ६ अर्ब ६२ करोड ७७ लाख ४ हजार ४ सय ३० रुपैयाँ आम्दानी छ। अन्य ३० विमानस्थलको आम्दानी ४१ करोड २७ लाख ७३ हजार ८ सय ६२ रुपैयाँ मात्रै आम्दानी हो।

त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थल रहेको छ। उक्त विमानस्थलले गत आर्थिक वर्षमा ६ करोड ३९ लाख १९ हजार ५ सय ७ रुपैयाँ आम्दानी गरेको छ। यस्तै, तेस्रो आम्दानी गर्नेमा विराटनगर विमानस्थल रहेको छ। विराटनगर विमानस्थलले ५ करोड ६४ लाख ७७ हजार ७ सय ९७ रुपैयाँ आम्दानी गरेको छ। चौथोमा, रहेको नेपालगन्जले ४ करोड ५६ लाख ९६ हजार २ सय ३९ रुपैयाँ आम्दानी गरेको छ। पाँचौ स्थानमा रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलले ३ करोड ७३ लाख ५१ हजार ७ सय ६ रुपैयाँ आम्दानी गरेको छ।
