

मुलुकमा राजनीतिक स्थिरता आउने संकेत देखिएपछि विदेशी लगानीकर्तामा उत्साह थपिएको छ। स्थानीय तहको निर्वाचन पश्चात विदेशी लगानी प्रतिबद्धता (एफडीआई) पनि करिब तीन गुणाले बढेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले काम सुरु गरिसकेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको पनि पहिलो चरणको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ। तीन तहको निर्वाचन भएपछि संविधान कार्यान्वयनको सुनिश्चितता देखिएको र राजनीतिक स्थिरता आउने लगानीकर्ताको विश्वास छ। नयाँ संविधान नमान्ने भन्दै आन्दोलित असन्तुष्ट पक्ष पनि निर्वाचनमा सक्रिय सहभागी छ। सबैको सक्रिय सहभागितामा सम्पन्न हुन लागेको निर्वाचनले लगानीकर्तामा उत्साह थपेको बताउनुहुन्छ, वरिष्ठ अर्थविद् विश्व पौडेल। निर्वाचन पश्चात बन्ने सरकार विश्वासिलो भइदिएमा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न तयार हुने उहाँको भनाइ छ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न मुलुकबाट आठ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। गत वर्षको सोही अवधिमा विदेशी लगानी प्रतिबद्धता तीन अर्ब ५३ करोड थियो।

विकासको चरणमा रहेको नेपालमा विदेशी लगानी अत्यावश्यक छ। संयुक्त राष्ट्र संघले अगाडि सारेको दीगो विकास लक्ष्य प्राप्तिका लागि पनि खर्बौंमा लगानी भित्र्याउन जरुरी छ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता उत्पादनमूलक परियोजनामा आएको छ। उत्पादनमूलक क्षेत्रमा २२ वटा ठूला परियोजनमा विदेशी लगानीको प्रतिबद्धता आएको छ।
स्थानीय तहको निर्वाचन पश्चात विदेशी लगानी प्रतिबद्धता पनि करिब तीन गुणा बढेको छ। जापानको बेलटेको ईंकले रूपन्देहीमा एक करोड लगानी प्रस्ताव गरेको छ। भारतको मिनाक्षी पोलिमर्सले पीयू सिट कभर उत्पादन गर्न रूपन्देहीमा डेढ करोड लगानी भित्र्याउने भएको छ। भारतीय व्यवसायीले इलेक्ट्रिक रिक्सा उत्पादन गर्न नवलपरासीमा चार करोड ९० लाख लगानी गर्ने जनाएको छ। यूएईको क्रिप्सी फेज्कोले काठमाडौंमा १० करोड ४० लाख लगानी गर्ने प्रस्ताव गरेको छ। भारतीय कम्पनीले चार करोड लगानीमा ललितपुरमा प्लास्टिक उद्योग खोल्ने भएको छ। भारतीय शितल प्रसादले नेपाली व्यवसायीसँग मिलेर दालमोठ उत्पादनका लागि एक करोड लगानी गर्ने प्रस्ताव गरेका छन्।
चिनियाँ लगानीकर्ताले मकवानपुरमा २४ करोड लगानी गरेर आयुरवेर्दिक मेडिसिन उत्पादन गर्ने भएका छन्। चीनकै झु छेइङले चार करोड ९० लाख लगानीमा प्रिफेब्रिक उत्पादन गर्ने प्रस्ताव गरेका छन्। पर्यटन र सेवा क्षेत्रमा देखिँदै आएको विदेशी लगानीकर्ताको आकर्षण उत्पादनमूलक क्षेत्रमा देखिन थालेको छ। विदेशी लगानी भित्र्याउन विश्वासिलो वातावरण आवश्यक रहेको अर्थविद् पौडेलको तर्क छ।
यो वर्ष लगानी प्रतिबद्धता बढेपछि रोजगारीको संख्या घटेको देखिन्छ। गत वर्ष एक सय ४४ परियोजनामार्फत चार हजार ३६ जनालाई रोजगारीको प्रतिबद्धता थियो। यो वर्ष एक सय २२ परियोजनामार्फत तीन हजार नौ सय २९ जनालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता छ।
राजनीतिक मुद्दा सल्टिसकेको अवस्थामा अगामी वर्ष लगानी कार्यान्वयन वर्षका रूपमा रहने अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।