नेपालको उत्पादनमूलक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

ram naam satya
देशमा बेरोजगारीको संख्या बढ्दै जाँदा उत्पादनमूलक उद्योगले भने दक्ष जनशक्ति पाउन सकेका छैनन्। सरकारी तथ्यांकले शिक्षाको स्तर वृद्धि भएको देखाए पनि प्राविधिकतर्फका विद्यार्थी भने निकै कम छन्। उद्यमी व्यवसायीहरूले सामाजिक शिक्षाका विद्यार्थी बढेको भन्दै आफूहरूले भारतबाट जनशक्ति ल्याउनुपरेको गुनासो गरेका छन्। विश्व श्रम संगठनका अनुसार नेपालको कुल बेरोजगारी दर १९.२ प्रतिशत तथा अर्धबेरोजगारी दर २८.३ प्रतिशत छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माका अनुसार नेपालका उत्पादनमूलक उद्योगमा पर्याप्त लगानी आएको छैन भने अर्कातिर दक्ष जनशक्ति अभाव छ। अधिकांश उत्पादनमूलक उद्योगले दक्ष जनशक्ति पाउन नसक्दा पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन्। स्वदेशमै पर्याप्त उद्योगधन्दा खुल्न नसक्दा जागिरमा छनोटको अवसर नहुनु, अर्धदक्ष तथा अदक्ष कामदार वैदेशिक रोजगारीमा जानुले दक्ष जनशक्ति अभाव भएको हो। दक्ष जनशक्ति नहुँदा भारतीय कामदार नेपाल आएर काम गर्ने गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका पनि उत्पादनमूलक क्षेत्रमा प्राविधिक, हेवी इक्युपमेन्टजस्ता क्षेत्रमा जनशक्ति अभाव भएको बताउनुहुन्छ। विदेशको तुलनामा नेपालमा तलब सुविधा कम भएकाले एकपटक विदेश गएर आएकाहरू नेपालमा काम गर्न नखोज्ने प्रवृत्ति रहेको अध्यक्ष मुरारकाको अनुभव छ। अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमाल भने जनशक्तिको क्षमताअनुसार नेपाली उद्योगीले तलब नदिएका कारण दक्ष जनशक्तिको अभाव भएको बताउनुहुन्छ।

एउटै क्षमताको व्यक्ति स्वदेशमा भन्दा विदेशमा निकै बढी कमाउन सक्छ भने यहाँ किन बस्ने भन्ने मान्यताले नेपालमा नबस्ने क्रम बढेको उहाँको भनाइ छ। नेपालको व्यापार व्यवसाय नै स्थायित्व नभइसकेको अवस्थामा उनीहरूको जागिर पनि स्थायी नहुने भएकाले दक्ष जनशक्तिको अभाव भएको हो। अस्थिर राजनीतिक अवस्थाका कारण उत्पन्न कमजोर शान्तिसुरक्षा, ऊर्जा संकटले कम समय उद्योग सञ्चालन र असन्तुलित श्रम सम्बन्ध मुख्य कारण भएको कारोबार अनलाइनमा खबर छ।

पूर्ण क्षमतामा चल्ने वातावरण सिर्जना र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने कार्यलाई ऊर्जा संकटले नै अवरोध गरेको बताउँदै विद्युत्मा दीर्घकालीन व्यवस्थापनको उपाय खोज्नुपर्ने सरोकारवालाको भनाइ छ। विद्युत् व्यवस्थापनले रोजगारी सिर्जनामा टेवा मिल्ने उनीहरूको भनाइ छ। पूर्ण क्षमतामा चल्न नसकेका कारण बढ्दो लागत एवं कम गुणस्तरका कारण स्थानीय उत्पादनले सस्तो मूल्यमा प्राप्त हुने चिनियाँ र भारतीय सामानसँग प्रतिस्पर्धा गर्न सकेको छैन। स्वदेशी उत्पादन कम हुनु र रेमिट्यान्सले उपभोग बढाइदिँदा व्यापार घाटा निरन्तर बढिरहेको छ। आयात र निर्यातबीचको ग्याप बर्सेनि बढ्दो छ।

राजस्व बढ्यो भने सबैथोक हुन्छ भनेर सरकारले आयात प्रतिस्थापनको विकल्प सोच्न नसक्दा आयातमुखी भएको व्यवसायीको गुनासो छ। नीतिगत रुपमा लगानीमैत्री वातावरण बनाउन सकेमा आन्तरिक तथा विदेशी लगानी समेत आउने उनीहरू बताउँछन्। प्रतिस्पर्धा बढेसँगै सम्वद्ध क्षेत्रमा काम गर्ने कामदारमा पनि दक्षता तथा छनोटको अवसर हुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *