

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी आगामी सोमबार अपराह्न नेपाल आउन लाग्नुभएको छ। परराष्ट्र मामिलाका विज्ञ एवं एमाले नेता डा. राजन भट्टराईले प्रधानमन्त्री अब्बासी नेपाल आउन लाग्नुभएको जानकारी दिनु भएको गोरखापत्र अनलाइनले लेखेको छ। प्रधानमन्त्री ओलीलाई शुभकामना बधाई दिनमात्र उहाँ केही घण्टाका लागि नेपाल आउन लाग्नुभएको हो, अरु कुनै राजनीतिक भेटघाट नरहेको उहाँले बताउनुभयो।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार अपरान्ह नेपाल आएर मङ्गलबार बिहानै पाकिस्तान फर्कने डा. भट्टराईले जानकारी दिनुभयो। नेपालको प्रधानमन्त्रीमा ओली निर्वाचित हुनुभएपछि यसरी विदेशका प्रधानमन्त्री आएरै औपचारिक रूपमा बधाई दिने काम सम्भवतः पहिलो हुने उहाँले बताउनुभयो। प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलीफोन र इमेलमार्फत बधाई दिने प्रचलन यसअघि भए पनि पाकिस्तानी प्रधानमन्त्री आफै आएर बधाई तथा शुभकामना दिन लाग्नुभएको नौलो अभ्यास हुने भट्टराईले बताउनुभयो।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिणी एसियाली महाशाखा प्रमुख भृगु ढुङ्गानाले पनि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको बताउनुभयो। तर, कार्यक्रमबारे आइतबार मात्र विस्तृत थाहा हुने जानकारी दिनुभयो।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै दिन छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी टेलीफोनमार्फत बधाई दिनुभएको थियो। त्यस्तै, अमेरिका, चीन, बङ्गलादेश लगायतका प्रधानमन्त्रीले पनि विभिन्न सञ्चारमाध्यममार्फत बधाई दिइसक्नुभएको छ।



