

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो। उहाँ नेपालको ४१ औँ प्रधानमन्त्री बन्नु भएको हो। ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न नकेपा एमाले र माओवादी केन्द्रले आजै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए।
निर्वाचन आयोगले हिजो बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो। नवनियुक्त प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सपथग्रहण गर्नु भएको छ। सपथ ग्रहण समारोह राष्ट्रपति निवाशमा सम्पन्न भएको छ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ।

