नयाँ राडार निर्माण गरिने

ram naam satya
नेपाली आकाशमा हुने उडानलाई थप सुरक्षित बनाउने लक्ष्यसहित ललितपुरको भट्टेडाँडामा नयाँ राडार निर्माण गरिएको छ। ‘इन रुट राडार’ माघ १८ गतेदेखि औपचारिक सञ्चालनमा आउनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण आयोजना (सर्भिलेन्स) अन्तर्गत् जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहायतामा निर्माण भएको उक्त राडारको अहिले परीक्षण जारी छ। यसअघि जडान गरिएको राडार पुरानो भएपछि जाइकाको एक अर्ब सहायता र नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब दस करोड रुपियाँको लगानीमा भट्टेडाँडामा अत्याधुनिक राडार निर्माण गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

पुरानो राडारबाट बढीमा पचास किलोमिटर आसपासको मात्र उडान निगरानी हुँदै आएकोमा नयाँ राडारबाट ४५० किलोमिटरसम्म क्षेत्रको उडानको जानकारी प्राप्त गर्न सकिने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो। ‘इन रुट राडारले नेपाली आकाशको करिब ७५ प्रतिशत क्षेत्रमा भइरहेको उडानको बारेमा जानकारी दिनसक्छ, उहाँले भन्नुभयो।

उहाँका अनुसार पूर्वमा उच्च हिमाली क्षेत्रमा बाहेक सबै ठाउँ र पश्चिममा सुर्खेतसम्मको उडानको जानकारी भट्टेडाँडास्थित राडारबाट प्राप्त गर्न सकिन्छ। यसको सञ्चालनपछि उडानको मिहिन जानकारी प्राप्त हुने भएकाले उडान सुरक्षा पनि बढ्दै जानेछ, उहाँले भन्नुभयो। भट्टेडाँडास्थित इन रुट राडारबाट प्राप्त जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल राडारले प्राप्त गर्नेछ।

प्राधिकरणका अनुसार नयाँ राडारबाट आकाशमा उडान भरिरहेको जहाजको बढी २५ फिट तल माथिसम्मको अवस्थिति पत्ता लाग्नेछ। यस्तो दूरी पुरानो राडारमा एक सय फिटसम्म हुने गर्थ्यो। यसले गर्दा जहाज कुन उचाइमा उडिरहेको छ भन्ने वास्तविक तथ्याङ्क पत्ता लगाउन थप सहयोग पुग्छ, आयोजना प्रमुख सञ्जीवसिंह कठायतले भन्नुभयो।

नयाँ राडारमा आठ हजार फिट माथिका उडानको निगरानी राख्ने क्षमता रहेको छ। यसबाहेक यस राडारबाट प्राप्त हुने जानकारीको प्रयोग गरेर दुई जहाजबीचको दूरी पनि कम गर्न सकिने छ। यसअघि इन रुट राडार नहुँदा दुई जहाजबीच १५ नटिकल माइलसम्मको दूरी कायम हुनेमा नयाँ राडार सञ्चालनपछि पाँच नटिकल माइलसम्म कायम गर्न सकिने कठायतले जानकारी दिनुभयो। काठमाडौँ आसपासको आकाशमा नियमित रूपमा ‘होल्ड’ हुने समस्या भोग्दै आएका हवाईयात्रुका लागि नयाँ राडार सञ्चालनमा आएपछि त्यस्तो समस्या कम हुने उहाँको दाबी छ।

यसैबीच नयाँ राडार सञ्चालनमा आएपछि नेपालको उडान क्षेत्र थप सुरक्षित हुने मासासी ओगावाले विश्वास व्यक्त गर्नुभयो। मङ्गलबार भट्टेडाँडास्थित उक्त राडारको परीक्षण सञ्चालनको निरीक्षण गर्दै उहाँले अत्यधुनिक किसिमको राडार भएकोले यसबाट उडानसँग सम्बन्धित अत्यन्त निकटको जानकारी प्राप्त हुने र यसले उडानलाई सुरक्षित बनाउने उहाँको भनाइ थियो। त्यस्तै, उहाँले उडान क्षेत्रलाई थप सुरक्षित बनाउन जापान सरकार नेपालसँग सहकार्यका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *