दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई नेपालका राष्ट्रपति भण्डारीद्वारा सम्बोधन

ram naam satya
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शनिबार बेइजिङको उत्तरपूर्वमा पर्ने यानछी ताल सभाकक्षमा आयोजित दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई सम्बोधन गर्नु भएको छ। शनिबार बिहान नौ बजे सुरु भएको राउन्ड टेबुल सम्मेलनको सुरुमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नु भएको थियो। त्यसपछि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले सम्बोधनका क्रममा शनिबार अपराह्न राष्ट्रपति भण्डारीले सम्बोधन गर्नु भएको नागरिक अनलाइनले लेखेको छ।

 

शुक्रबारको उद्घाटन समारोहपछि उच्चस्तरीय सम्मेलनमा जस्तै राउन्ड टेबुल सम्मेलनलाई पनि राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गर्नु भएको हो। राष्ट्रपति भण्डारीले सम्बोधन गरेको गोलमेच सम्मेलनको विषय ‘संयुक्त राष्ट्रसंघको २०३० अजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकासको प्रवद्र्धन’ रहेको थियो। तसर्थ उहाँले आफ्नो विषयमा केन्द्रित भएर ठोस विषयवस्तु र वातावरण संरक्षणमा बीआरआईले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नु भएको छ। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्राध्यक्ष सीको प्रशंसा गर्दै भन्नुभयो, ‘यहाँले दिनुभएको दूरदृष्टियुक्त र सारगर्भित मन्तव्यका लागि महामहिम राष्ट्राध्यक्षलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ दिगो विकासका लागि २०३० अजेन्डा जनता, पृथ्वी र समृद्धिका लागि हो भन्दै उक्त सोच रूपान्तरणकारी, समावेशी र समन्यायिक विकासका लागि रहेको उहाँले औँल्याउनुभयो। समावेशिताबिनाको दिगो विकास भ्रम मात्र हुने भन्दै यो महत्वाकांक्षी सोचको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव हुने कुरामा उहाँले जोड दिनुभयो।

नेपालले दिगो विकास लक्ष्यलाई आफ्ना राष्ट्रिय नीति, योजना र कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको विकाससम्बन्धी कार्यादेशलाई बलियो बनाउनु पर्छ भन्ने पक्षमा नेपाल रहेको जानकारी दिनुभयो। कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बेल्ट एण्ड रोड इनिसिएटिभको मर्म र भावना २०३० को अजेन्डासँग मिल्दोजुल्दो भएको भन्दै बीआरआई गरिबी उन्मुलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको भनेर उहाँले प्रशंसा गर्नु भएको छ। वित्तीय खाडल बढिरहेको सन्दर्भमा बीआरआईले धेरै राष्ट्रलाई २०३० को अजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्‍याउने भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘जलवायु परिवर्तनले खतराको घन्टी बजाइरहेको छ।’ पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनासलाई तीव्रता दिइरहेको भन्दै दुर्भाग्यवस नगन्य मात्रामा कार्बन उत्सर्ज गर्ने नेपाल जस्ता मुलुकले जलवायु परिवर्तको अन्यायपूर्ण भार व्यहोर्नु परेको गुनासो पनि राष्ट्रपति भण्डारीले रा्ख्नुभएको छ। यस प्रकारका समस्याको मुख्य सिकार महिला र विपन्न समुदाय बनिरहेका भन्दै हरित अर्थतन्त्रको विकास नै अबको बाटो हुनुपर्ने कुरामा उहाँले जोड दिनु भएको छ।

वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलहरुको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘पृथ्वीको जलवायु अनुकूलता जोगाइ राख्न सकेनौँ भने हाम्रा सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जाने अनुसन्धानले देखाएका छन्।’ यस्तो अवस्थामा परिवर्तन ल्याउन अनिवार्य रहेको भन्दै त्यसो नभएमा दिगो विकास एक भ्रम मात्र हुने कुरालाई उहाँले दोहोर्‍याएकी छन्। दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रूपान्तरणका लागि महत्वपूर्ण सघाउ पुर्‍याउने भन्दै उनले बीआरआईको दोहोर्‍याएर प्रशंसा गरेकी छन्। सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्छ भन्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्ने धारणा उहाँले राखेकी छन्। नेपाल अग्ला हिमालको देश रहेको र ती अग्ला चुचुरा गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोत भएको उल्लेख गर्दै पर्यावरण प्रणालीका अभिन्न अंगका रूपमा रहेका हिमालय शृंखला मानव जगतका साझा सम्पत्ति रहेको कुरा राष्ट्रपति भण्डारीले विश्वसमक्ष राख्नु भएको छ।

नेपालमा जलविद्युत्का माध्यमबाट स्वच्छ ऊर्जा विकासको प्रचुर सम्भावना रहेको र यसबाट नेपाललगायत छिमेकीहरुको समेत हरित विकासमा ठूलो योगदान पुग्न सक्ने कुरालाई उहाँले उजागर गर्नुभयो। प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यसले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी विस्तार र विश्वबजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रूपान्तरणमा ठूलो टेवा पुर्‍याउने हाम्रो विश्वास छ।’ नेपालका आर्थिक अवसरमा बढोत्तरी गर्दै गरिबी उन्मुलन गर्न व्यापारलाई गहन तथा विस्तार गर्न उद्योगमा क्रान्ति ल्याउन, रोजगारी सिर्जना गर्न तथा जीवनस्तरमा सुधार ल्याउन पनि बीआरआई ठूलो सहयोगी बन्ने अपेक्षा उहाँले व्यक्त गरेकी छन्। ‘सडक निर्माण समृद्धि यात्राको पहिलो कदम हो,’ भन्ने चिनयाँ भनाइ सापटी लिँदै उहाँले अहिले दीर्घकालीन लक्ष्य प्राप्तिका लागि पूर्वाधार निर्माणमा नेपाल जुटेको जनाउनुभएको छ।

केही समयअघि नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु होङले ‘विकास चाहनुहुन्छ भने सडक बनाउनुहोस्’ शीर्षकमा नेपाली पत्रिकामा लेख नै प्रकाशन गर्नुभएको थियो। चीनले विकासको सबैभन्दा प्रारम्भिक बिन्दुका रूपमा सडकलाई मान्दै आएको छ। यो सबै कुरा बुझेरै राष्ट्रपति भण्डारीले उक्त चिनियाँ भनाइ साभार गर्दै आफ्नो भनाइ राख्नुभएको हो। बीआरआईबाट नेपालले मूलतः हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासमा जोड दिएको उल्लेख गर्दै प्राचीन सिल्क रोडको मूल मर्मका रूपमा रहेको र बीआरआईले आत्मसात गरेको ‘शान्ति र सहयोग, खुलापन र समावेशीता, साझा सिकाइ र आपसी लाभ’ले नेपाललाई दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पुयाउने उहाँले बताउनुभयो।

File Photo

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *