

यो अवधिमा देशका प्राय सबै आन्तरिक विमानस्थलमा यात्रुको संख्या बढेको छ। सुर्खेत, सिमिकोट, जोमसोम लगायतका विमानस्थलमा पनि यो अवधिमा यात्रुहरुको संख्या बढेको छ।
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट १९ लाख ९२ हजार ९०३ जनाले यात्रा गरेका छन्। सन् २०१६ को दश महिनामा १४ लाख ११ हजार १३ जनाले यात्रा गरेका थिए।

२०१६ मा कूल यात्रा गर्ने भन्दा यो वर्षको १० महिनामै २ लाख बढीले आन्तरिक यात्रा गरेका छन्। सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १७ लाख ५७ हजार ५९७ जनालेमात्र यात्रा गरेका थिए।

विश्वव्यापीरुपमा हवाई यात्रुको संख्या प्रत्येक वर्ष उकालो लागेको र त्यसमा पनि एसिया प्यासाफिक क्षेत्रमा अझै बढीरहेको त्यहीअनुसार नेपालमा पनि बढेको बताउनुहुन्छ नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक संजिव गौतम।

देशभित्र सडक यातायात भरपर्दो नभएको, नेपालीहरुकै पनि क्रयशक्ती बढेको, विदेशी पर्यटक पनि यो वर्ष बढेकाले आन्तरिक हवाई यात्रुको संख्या बढेपनि विमानस्थलको क्षमता अन्तिम विन्दुमा पुगेको स्वयम् अधिकारीहरुकै भनाइ छ।
अहिलेकै अवस्थामा विमानस्थलमा सबैलाई सुरक्षित, भरपर्दो यात्रा शुनिश्चत गर्न कठिन भएको बताउनुहुन्छ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतम।
एकमात्र रनवे भएको, सिमित पार्किङ वे, सानो टर्मिनल भवनजस्ता कारणले त्रिभुवन विमानस्थल साँघुरो बन्दै गएको छ। यात्रुको संख्या बढेसँगै प्रत्येक वर्ष विमानको संख्या पनि बढ्दै गएको छ। अघिल्लो वर्षको १० महिनाको तुलनामा यो वर्ष उडान तथा अवतरणको संख्या पनि १६ हजारले बढेको छ।
अघिल्लो वर्ष यो अवधिमा ५९ हजार ६३ उडान तथा अवतरण भएकोमा यो वर्ष ७५ हजार ८३९ पुगेको छ। तर विमानस्थलको पूर्वाधार र संरचना भने पुरानै छ।
यात्रुको संख्या बढ्दै जाने, विमानस्थलको पूर्वाधार उही रहने कारणले हवाई सुरक्षामै गम्भिर असर पर्नेतर्फ वातावरण अग्रसर भएको बताउनुहुन्छ एयरलाइन अपरेटर्स एसोसिएसनका अध्यक्ष पवित्रकुमार कार्की।
‘सडक यातायातकोमात्र होइन पछिल्लो समय बढ्दै गएको नेपालीको क्रयशक्तीकै कारण पनि देशभित्रै एकठाउँबाट अर्को ठाउँमा हवाईजहाजमार्फत् जानेको संख्या बढ्दै छ’ उहाँले भन्नुभयो,’त्यस्तै विदेशी पनि उत्तिकै बढीरहेका छन् यस्तोमा विमानस्थलको काउन्टरमै झगडा पर्ने, होहल्ला हुनेजस्ता अवस्था अहिले नै देखिन थालेका छन् यो गम्भिर संकेत हो।’
विमानस्थलको क्षमता विस्तारमात्र होइन देशभत्रिका सम्भावित एयर हव बनाउनेतिर प्राधिकरण अग्रसर रहेको र मौजुदा व्यवस्थामै अधिकतम व्यवस्थापनको लागि पहल भइरहेको गौतमको भनाइ छ।
‘हामीले विभिन्न समाधानका उपायाहरुमा छलफल गरिरहेका छौं’ उनले भने,’यसको लागि तत्काल हामी व्यवस्थापन गर्छौ।’संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा क्यान संचालक बोर्डका अध्यक्ष महेश्वर न्यौपा तत्काल व्यवस्थापन गरेपनि पूर्वाधार निर्माणलाई तिव्रता दिनुको विकल्प नरहेको बताउनुहुन्छ।
‘म सचिव भएर आएदेखि विभिन्न विमानस्थल आयोजनाहरुको ढिलाइप्रति गम्भिर चासो देखाएको छु’ उहाँले भन्नुभयो,’निर्वाध,सुरक्षित र भरपर्दो यात्रा गर्न पाउनु नागरिकको अधिकारलाई कुनै पनि हालतमा कुण्ठित हुन दिनुहुँदैन।’
नेपालमा हाल कूल १९ एयरलाइन्सले आन्तरिक हवाई सेवा दिइरहेका छन्। फिक्सड विङ(सेड्युल उडान गर्ने)मार्फत् १० र रोटर तर्फ ९ कम्पनीले सेवा दिइरहेका छन्। हाल ३१ विमानस्थलमा सेड्युल उडान भइरहेको छ भने ७ एयरपोर्टमा चार्टड उडान हुने गरेको छ। बाँकी २० एयरपोर्ट संचालनमा आएका छैनन्।