‘देशको रक्षाका निम्ति सबै दल एकजुट हुनुपर्ने’

‘देशको रक्षाका निम्ति सबै दल एकजुट हुनुपर्ने’

लमजुङ, ९ कात्तिक :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज लमजुङ सुन्दरबजार नगरपालिका–१ कुन्छामा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित जनयुद्धका सहिद एकबहादुर सुनारको २६ औँ स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नेपालीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्तापक्ष र विपक्ष, एक दल र अर्को दल नभनी एकले अर्कोलाई दबाउने खेल भइरहेकाले यसलाई रोक्न सके मात्रै मुलुक समृद्ध बन्ने र बाहिरी शक्तिको चलखेल नहुने उहाँको भनाइ छ ।

उहाँले आफ्नो पार्टीले परम्परागत भन्दा पनि विचार, नीति र लाइनको आधारमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी यतिबेला रचनात्मक ढङ्गले सरकारको विरोध, समर्थन गर्दै राष्ट्रियताको केन्द्र, प्रजातन्त्र र सुशासन कायम गर्न प्रतिबद्ध छ ।”

सो कार्यक्रममा सहिद एकबहादुरकी श्रीमती तथा संविधानसभा सदस्य हिमकुमारी सुनार, केन्द्रीय सदस्य सतिमाया तामाङ, गण्डकी प्रदेशका सहसचिव हरिराज अधिकारी, लमजुङ इञ्चार्ज पारसमणि पौडेल, सुन्दर बजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, निवर्तमान नगर प्रमुख जनकराज मिश्रलगायतले फूलमाला अर्पण गर्दै सहिद सुनारको सम्झना गरेका थिए । सुनारलाई लमजुङ सुन्दरबजार नगरपालिका–३ स्थित चन्द्रेश्वर देउतेपानीमा आफन्तको घरमा बसेको बेला विसं २०५५ कात्तिक ९ गते नेपाल प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो ।

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *