

नेकपा एमाले र एकीकृत माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमति भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर एकता गर्ने सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। पार्टी एकता सहमति पत्रमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टी एकता संयोजन समितिमा रहेका नेताहरूले हस्ताक्षर गरेका छन्।
एमाले र माओवादीले १७ असोजमा दुई पार्टीबीच निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि दर्जनौं बैठक र अनेकौं प्रयासपछि दुई पार्टीबीच एकताको घोषणा भएको हो।

सात बुँदे सहमतिमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त हुने उल्लेख छ। सहमतीमा एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको एक्क्इसौं शताब्दीको जनवाद तथा माओवादबारे ‘विधिसम्मत छलफल गरी विधिसम्मत आवश्यक परिमार्जनर विकास गर्न सकिने’ उल्लेख छ। ‘सामाजिक न्याया र आर्थिक रुपान्तरण मार्फत समाजवादको आधार निर्माण गरिने’ उल्लेख गरिएको सहमतीमा पार्टी र सरकारको नेतृत्वबारे केही उल्लेख गरिएको छैन।

बालुवाटारमा पार्टी एकता सम्बन्धमा लिखित सहमति भएसँगै अब सरकार विस्तारका लागि पनि बाटो खुलेको छ।


