

(GMT+08:00) 2017-11-22 16:33:33
नेपालमा हुने निर्वाचनमा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारले रसुवागढी नाकाको व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका छन्। पहिलो चरणअन्तर्गत हुने निर्वाचनमा चीनसँगको व्यापारिक नाकाको व्यवस्थापनलाई उनीहरूले मत तान्ने एजेन्डा बनाएका कान्तिपुर अनलाइनले लेखेको छ। भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार रसुवागढीबाट हुन थालेको हो।
अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा रूपान्तरण गरे पनि भौतिक विकासको अभावमा नाकाको अवस्था नाजुक छ। उम्मेदवारहरूले नाकाको व्यवस्थापन मिलाएर रोजगारी सिर्जना गराउने एजेन्डा अघि सारेका छन्। उम्मेदवारहरूले घरदैलोका क्रममा नाकाको विकासलाई जोड दिने गरेका छन्। प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले समृद्ध जिल्ला निर्माण गर्ने आफ्नो प्रमुख मुद्दा रहेको बताउनुभयो। ‘मुख्य मुद्दा विकास हो,’ उहाँले भन्नुभयो, ‘गल्छी, बेत्रावती, मैलुङ, स्याफ्रुबेंसी रसुवागढी सडक कालेपत्रे र एकीकृत भन्सार कार्यालय निर्माण योजना अघि सारेको छु।’
प्रतिनिधिसभाका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले सीमा क्षेत्रको व्यवस्थापन र सुशासन आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। ‘जलविद्युत्को विकास र नाकाको व्यवस्थापनले जिल्लालाई समृद्ध बनाउन सघाउँछ,’ उहाँले भन्नुभयो। आचार्यले कृषिमा आधुनिकीकरण र बजार व्यवस्थापनको मुद्दालाई पनि अघि सारेका छन्। नाका सञ्चालन भए पनि सडक र सीमाको भौतिक अवस्था नाजुक छ। यसलाई उम्मेदवारहरूले साझा नाराका रूपमा उठाएका छन्।
प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात तामाङले भन्नुभयो, ‘रसुवागढीको व्यवस्थापनबाट रोजगारी सिर्जना सम्भव छ। नाकाले जिल्लाकै आर्थिक समृद्धिमा सघाउँछ।’ उहाँ मात्र होइन वाम गठबन्धन र नयाँ शक्तिका उम्मेदवारहरूको मुख्य एजेन्डा नाका नै भएको छ। प्रदेशसभा ‘ख’ का माओवादी केन्द्रका उम्मेदवार इन्द्र गौतमले नाकाको व्यापार व्यवस्थित गर्ने र पर्यटक भित्र्याउने आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो। प्रदेशसभा ‘क’ का वाम गठबन्धनका उम्मेदवार कन्र्याल तामाङले पनि आफू निर्वाचित भएपछि जिल्लालाई धार्मिक तथा पर्यटकीय स्थलको मुख्य केन्द्र बनाउने बताउनुभयो। त्यसका लागि रसुवागढी नाकाको व्यवस्थापन जरुरी छ।