दक्षिण एसियाको समृद्धिका लागि क्षेत्रीय एकता र सहकार्यमा जोड

ram naam satya

दक्षिण एसियाको समृद्धिका लागि क्षेत्रीय एकता र सहकार्यमा जोड (GMT+08:00) 2017-11-15 15:33:15 दक्षिण एसियाली राष्ट्रको आर्थिक समृद्धिका लागि क्षेत्रीय एकता र सहकार्य आवश्यक रहेको विज्ञले बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरु भएको दसौं दक्षिण एसियाली आर्थिक सम्मेलनको उद्घाटन सत्रमा उनीहरूले यस्तो बताएका हुन्। दक्षिण एसियाली राष्ट्रहरूमा पर्याप्त साधनस्रोत र सम्भावना रहे पनि बलियो क्षेत्रीय एकता र सहकार्य हुन नसक्दा अपेक्षित रूपमा आर्थिक विकास हुन नसकेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसियाको आर्थिक समृद्धिका लागि क्षेत्रीय एकता महत्त्वपूर्ण रहेको बताउनुभयो। यो क्षेत्रको आर्थिक तथा व्यापारिक उन्नतिका लागि पारवहन र भन्सार अवरोध प्रमुख समस्याका रूपमा रहेको उहाँको भनाइ छ। सार्क क्षेत्रका मुलुकहरूमा जल, स्थल र हवाई पारवहन सम्बन्ध तथा गैरभन्सार अवरोधले आर्थिक सम्बन्धलाई फलदायी बनाउन नसकेको उहाँको तर्क छ। सार्क क्षेत्र विश्व आर्थिक शक्तिका रूपमा स्थापित हुन सक्ने भन्दै उहाँले भन्नुभयो, ‘गरिबी र असमानता घटाउनका लागि पनि आर्थिक समृद्धि जरुरी छ।’ यो क्षेत्रको साझा मुद्दाका रूपमा जलवायु परिवर्तन रहेको उहाँले औंल्याउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अन्य छिमेकी राष्ट्रहरूमा राम्रो आर्थिक विकास भए पनि नेपाललगायत केही राष्ट्रले अपेक्षित रूपमा आर्थिक उन्नति गर्न नसकेको बताउनुभयो। यसकारण दक्षिण एसिया क्षेत्रलाई आर्थिक रूपमा समृद्ध र प्रतिस्पर्धी बनाउन सबै मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। यो क्षेत्रको आर्थिक विकासका लागि व्यापार लागतमा कमी, व्यापारमैत्री वातावरण सिर्जना, सडक, सञ्चारलगायत सुविधा र साधन स्रोतको अधिकतम उपयोग अपरिहार्य रहेको वाग्लेको तर्क छ।

कार्यक्रममा भुटानका आर्थिक मामिलामन्त्री ल्योन्पो लेके दोर्जीले नेपाल र भुटानमा जलविद्युत्को राम्रो सम्भावना भएकाले दुवै देशले मिलेर सहकार्य गर्न सकिने बताउनुभयो। मालदिभ्सका आर्थिक विकास राज्यमन्त्री अब्दुल लथिफ मोहम्मदले दक्षिण एसियाली क्षेत्रको सामाजिक आर्थिक र समावेशी विकास क्षेत्रीय एकताबिना सम्भव नभएको बताउनुभयो।’ विश्व बजारका लागि दक्षिण एसिया प्रमुख गन्तव्य रहेकाले यसको आधार बलियो बनाउनुपर्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माको भनाइ थियो। समावेशी र दिगो विकास यो क्षेत्रका सबै राष्ट्रहरूको साझा लक्ष्य रहेको जनाउँदै उहाँले भन्नुभयो, ‘यसका लागि सबै राष्ट्रहरूको संयुक्त प्रयास अपरिहार्य छ।’ बिहीबारसम्म चल्ने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दिगो विकासका लक्ष्य एवं समावेशी विकास, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परताको आकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, व्यापार सहजीकरण, पारवहनलगायत विविध विषयमा छलफल हुने ईकान्तिपुर अनलाइनले लेखेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *