थप पाँच नयाँ सुरुङ मार्गको अध्ययन सुरु

ram naam satya
नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच नयाँ सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन सुरु गरेको छ। यातायातलाई छिटोछरितो र सहज बनाउन सुरुङ मार्ग निर्माण प्रक्रिया सुरु गरेको कान्तिपुर अनलाइनले लेखेको छ। नौबिसे–नागढुंगा सुरुङ मार्ग निर्माणसँगै थप पाँचवटाको अध्ययन भइरहेको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो।

विभागले बीपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुलीबजार, नवलपरासीको दाउन्ने, कुलेखानी–हेटौंडा सुरुङ मार्गको अध्ययन अघि बढाएको छ। नुवाकोट जोड्ने टोखा–छहरेमा सुरुङ मार्ग बनाउन विभागले अध्ययन सुरु गरेको छ। त्यसैगरी पोखराको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सडकलाई छोटयाउन हेम्जा–नयाँपुल सुरुङ मार्गको अध्ययन सुरु गरेको उहाँले बताउनुभयो।

उपत्यका भित्रिने अर्को नाका टोखा–छहरे सुरुङ मार्ग अघि बढाउने तयारी गरेको उहाँले बताउनुभयो। उक्त सुरुङमार्ग निर्माणका लागि विभिन्न विदेशी बैंकले इच्छा देखाए पनि कसले लगानी गर्ने भन्नेबारे निक्र्योल भइसकेको छैन। ‘एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले लगानी गर्ने इच्छा देखाएको थियो,’ विभागका एक अधिकारीले भने, ‘तर, अहिले त्यसले नै लगानी गर्छ भनेर यकिन गरेर भन्न सकिँदैन।’ उक्त बैंकले करिब ४ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने इच्छा देखाएको हो।

भौगोलिक बनावटले लामो यात्रालाई छोटयाएर गाडी गुडाउन सुरुङ मार्ग निर्माण अघि बढाउन लागेको उहाँले बताउनुभयो। ‘सुरुङमार्ग निर्माण गर्दा यात्रुको यात्रा छिटोछरितो र सहज हुन्छ,’ उहाँले भन्नुभयो, त्यसकारण पनि नयाँ सुरुङमार्ग निर्माण अघि बढाउँदैछौं।’ नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको भन्दै उनले आगामी असोजमा टेन्डर आह्वान गर्ने बताउनुभयो।

सडकको दूरी छोटयाएर ट्राफिक जाम र इन्धन खपत कम गर्न सुरुङको अवधारण अघि बढाएको उहाँको भनाइ छ। ‘परामर्शदाता नियुक्त गरेर अध्ययन गर्दै छौं,’ उहाँले भन्नुभयो, ‘परामर्शदाताले सम्बन्धित क्षेत्रको भौगोलिक र वस्तुस्थिति अध्ययन गरेर प्रतिवेदन बुझाएपछि निर्णय गर्छौं।’

डीपीआर तयार गर्न लाग्ने लागत, भू–बनोट, सुरुङको लम्बाइ, नक्सा र खर्च विवरणसहित परामर्शदाताले वास्तविकता अध्ययन गरेपछि सुरुङ मार्ग निर्माणबारे स्पष्ट खाका बाहिर ल्याउने उहाँले बताउनुभयो। विभागका अनुसार विस्तृत अध्ययनपछि मात्र सुरुङ मार्ग निर्माणका लागि सरकारले आफैं वा दातृ निकायमार्फत निर्माणगर्ने भन्नेबारे निष्कर्षमा पुग्नेछ। निर्माण भइसकेको पनि सुरुङमार्गमा विद्युत्लगायत समस्या भने निकैहुने सिग्देलले बताउनुभयो। ‘कमजोर भूगोल, विद्युत्को अभावले सुरुङमार्गमा निर्माण अलि समस्या छ,’ उहाँले भन्नुभयो, ‘तर विस्तृत अध्ययनपछि मात्र स्पष्ट रूपमाभन्न सकिन्छ।’

नौबिसे–नागढुंगा सडकमा पर्ने दहचोकदेखि–सिस्नेखोला सुरुङ मार्गमा जापानले लगानी गर्ने सम्झौता गरिसकेको छ। जापान सरकारको १५ अर्ब रुपैयाँ सहुलियत ऋणमा निर्माण गर्न लागिएको नागढुंगा–नौबिसे सडकखण्ड सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर हुनेछ। २०७९ भदौसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुरुङ मार्गको डीपीआर निर्माण गर्ने काम भइरहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *