ताप्लेजुङबाट तिब्बत जोड्न सडक विस्तार कार्य सुरु

ताप्लेजुङबाट तिब्बत जोड्न सडक विस्तार कार्य सुरु

ram naam satya

नेपालको ताप्लेजुङ जिल्लाबाट तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग विस्तारको काम सुरु भएको छ। बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत काम थालिएको कान्तिपुर अनलाइनले लेखेको छ। काठमाडौँको एलाइट कम्पनीले दुईवटा एक्साभेटर मेसिन निर्माणस्थलमा पुर्‍याएको छ। फक्तालुङ गाउँपालिका ५ तापेथोकको हेल्लोक छेउबाट शनिबारदेखि विस्तारको काम सुरु भएको छ। यहाँसम्म यसअघि नै ट्रयाक खुलिसकेको छ।

उत्तर–दक्षिण लोकमार्ग आयोजनाका प्रमुख कुवेर नेपालीले एलाइटले ३६ करोड रुपैयाँको लागतमा विस्तारको जिम्मा पाएको बताउनुभयो। सडक विस्तारका लागि ६० करोड रुपैयाँ छुट्याइएको थियो। यसमा ओलाङचुङगोला र तापेथोकको बीचमा हेलिकप्टरबाट मेसिन लाने रकमसमेत रहेको छ। ट्रयाक चाँडो खोल्न तीनतिरबाट सडक विस्तार गरिनुपर्ने माग स्थानीयको छ। गाउँपालिका अध्यक्ष सरोज एभेङले अहिले ट्रयाक पुगेको तापेथोक, ओलाङचुङगोला र लेलेपमा मेसिन लगेर सडक विस्तार गर्नुपर्ने माग स्थानीयको रहेको बताउनुभयो।

ओलाङचुङगोलाबाट लेलेपतिर ल्याउने, तापेथोकबाट लेलेपतिर लाने र लेलेपमा हेलिकप्टरबाट मेसिन राखेर ओलाङचुङगोलातर्फ लगे काम चाँडो हुने एभेङले बताउनुभयो। यसरी काम भए आगामी आर्थिक वर्षमा तिब्बतसम्मै सडकले जोडिने स्थानीयको बुझाइ छ। ट्रयाक खोल्न करिब ३५ किलोमिटर बाँकी रहेको छ।

जेठ मसान्तसम्ममा वडा ६ लेलेपको लुङथुङसम्म पुर्‍याउने गरी कामलाई गति दिइने नेपालीले बताउनुभयो। साबिकका तापेथोक र लेलेप जोड्ने सेकाथुम पुल छेउबाट सडक जोड्ने तयारी छ। तमोर नदी पार गरेपछि लेलेपको बस्ती भएर लुङथुङतर्फ सडक बढाउने कार्यालयले जनाएको छ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा रहेको घुन्सा क्षेत्रका बासिन्दाले आफ्नो क्षेत्रमा मोटरेबल सडक विस्तार नगर्ने र ट्रेकिङ रुट बनाउनुपर्ने प्रस्ताव गरेका छन्। कञ्चनजंघा जानेलाई समेत राहत हुने गरी सेकाथुमबाट तमोर नदी तार्न लागिएको हो। यसअघि लेलेप रानी पुल छेउबाट लेलेप जोड्ने भनिएको थियो। तर यसो गर्दा लेलेपमा धेरै घुम्ती हुने भएपछि घुन्सालाई समेत राहत हुने गरी सेकाथुमबाट तार्न लागिएको छ। यहाँबाट घुन्सा जान नजिक पर्छ भने कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय, सरस्वती मावि लेलेपको विद्यालय भवन माथिबाट लुङथुङलान जोडिनेछ। सडकले बस्तीसमेत छुनेछ।

अहिले तापेथोक बगरसम्म साना सवारी चल्ने गरेका छन्। सदरमुकाम फुङलिङबाट दैनिक चारवटा साना गाडी आउजाउ गर्छन्। सदरमुकामबाट सुकेटार विमानस्थल हुँदै फुरुम्बु, लिंखिम हुँदै तापेथोकमा सडक पुर्‍याइएको हो। सडकको ट्रयाक खुलेको ठाउँसम्मै गाडी पुगे लेलेप र ओलाङचुङगोलाका बासिन्दालाई समेत सहयोग पुग्छ। लुङथुङसम्म सडक पुगेपछि सदरमुकामबाट एकै दिनमा पर्यटकीय गाउँ ओलाङचुङगोला पुग्न सकिन्छ। ओलाङचुङगोला भने तिब्बततर्फबाट सडकले जोडिइसकेको छ। वालुङ समाजको लगानीमा नेपाल र चीनको सिमाना टिपताला भन्ज्याङदेखि ओलाङचुङगोलाको बस्तीसम्म यसअघि नै ट्रयाक खुलेको छ। समाजले निर्माणको जिम्मा तिब्बतको कम्पनीलाई नै दिएको थियो। तर सवारीसाधन भने चल्न सकेका छैनन्।

नेपाली मेसिन चीन हुँदै गोलाएलाइट कम्पनीले नेपाली मेसिन चाइना घुमाएर ओलाङचुङगोला पुर्‍याउन पहल थालेको छ। कम्पनीका ताप्लेजुङ प्रतिनिधि पेम्बा शेर्पाका अनुसार यसका लागि परराष्ट्र हुँदै चिनियाँ दूतावासमा निवेदन दिन लागिएको छ। ‘म त्यसैका लागिकाठमाडौं जाँदै छु,’ सोमबार टेलिफोनमा उहाँले भन्नुभयो, ‘हामीले मेसिन घुमाएर लैजान र तेल खरिदका लागि अनुरोध गर्ने तयारी गरेका छौं।’

चीनको मेसिन किन्न डेढ करोड लाग्ने तर नेपालबाटै मेसिन घुमाएर लैजाँदा १० लाखमात्रै खर्च हुने भएकाले कम्पनी नेपालबाटै मेसिन लाने तयारीमा पुगेको हो। केरुङ नाकाबाट चीन हुँदै टिप्ताला भन्ज्याङ भएर ओलाङचुङगोलामा मेसिन पुर्‍याउन १३ घण्टा मात्रै लाग्छ। नेपालमा १ करोडमा मेसिन आउने भएकाले चीनमा किन्नुभन्दा कम्पनी आफैंले लैजान लागेको हो। यसरी काम भए गोला र सदरमुकाम क्षेत्रबाट लगातार काम गर्ने कम्पनीको दाबी छ। कम्पनीले सरकारसँग एक महिना अगाडि मात्रै सम्झौता गरेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *