तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन काम तीव्र

ram naam satya

नेपाललाई चीनसित जोड्ने तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको छ। नेपाल र चीनको सिमानामा रहेको मैत्रीपुल र अरनिको राजमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले जनाएको छ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जेठको तेस्रो सातादेखि तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने सरकारको घोषणा पूरा गर्ने गरी भूकम्प र बाढीबाट क्षतिग्रस्तसडक र पुलको निर्माण कार्यलाई तीव्रता दिएको बताउनुभयो।

सीमामा रहेको मैत्रीपुलको निर्माण कार्य अबको एक महिनाभित्र सम्पन्न गर्ने गरी २४ घण्टा निर्माण कार्य जारी रहेको जानकारी उहाँले दिनुभयो। सरकारी उच्चस्तरीय टोलीद्वारा चैत २६ गते अरनिको राजमार्ग र तातोपानी नाकाको स्थलगत अवलोकन गराएको थियो । अवलोकनका क्रममा टोलीद्वारा जेठको १७ गतेबाट तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने जानकारी गराइएको थियो । काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्मको दूरी ११४ किलोमिटर छ।

सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले सरकारको घोषणा अनुसार निर्धारित समयमा नै तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि अहिले दिनरात काम भइरहेको बताउँदै जेठभित्र मैत्रीपुल तथा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो।

अहिले खाँडीचोर–बाह्रबिसेदेखि चाइनिज क्याम्प खण्ड (१५ किलोमिटर) मा कालोपत्रे कार्य भइरहेको बताउँदै उहाँले अहिले विभिन्न स्थानमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको काम भइरहेको जानकारी समेत दिनुभयो।

गोरखापत्र अनलाइनका अनुसार चिनियाँ पक्षबाट अहिले बनदेउ–बाह्रबिसे खण्ड र बाह्रबिसे–कोदारी खण्डमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको कार्य भइरहेको जनाइएको छ।

त्यसैगरी, उहाँले कोठे पहिरो खण्डमा नदी कटान रोकथामको लागि प्लम कंक्रिटसहित पर्खालको कार्य भइरहेको, जुरे पहिरो खण्डमा पहिरो रोकथामको लागि पर्खाल तथा नदी कटान रोक्न प्लम कंक्रिटको कार्य भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी, महाभीर सडक खण्डमा टेवा पर्खालको कार्य, बाह्रबिसे हेल्थ पोस्ट सडक खण्डमा नदी कटानले क्षति पुगेको स्थानको पुनस्र्थापनाको कार्य भइरहेको छ । त्यस्तै, बसेरी नदी कटानले क्षति पुगेको सडकको पुनस्र्थापनाको कार्य भइरहेको, बाह्रबिसे–जम्बु सडक खण्डमा कालोपत्रे सडक पुनस्र्थापनाको कार्य, दोलालघाट—बलेफी सडक खण्डको ‘रिकुरेन्ट’ मर्मतको कार्य भइरहको, लामोसाँघु–बाह्रबिसे सडक खण्डको ‘पिरियोडिक’ मर्मतको कार्य र बनदेउ–बाह्रबिसे सडक खण्डको विभिन्न स्थानमा नाली तथा जीर्ण संरचनाको पुनर्निर्माण कार्य भइरहेको जानकारी उहाँले दिनुभयो ।

सिन्धुपाल्चोकको लार्चामा निर्माणाधिन सुख्खा बन्दरगाह अबको एक महिनापछि चीन सरकारले नेपाललाई हस्तान्तरण गर्ने जानकारी समेत डिभिजन प्रमुख झाले दिनुभयो। चीन सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो बन्दरगाहको लगभग सबै निर्माण कार्य सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।

अरनिको राजमार्गमा पर्ने बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित साँदी खोलामा ‘बेलिब्रिज’ निर्माण हुने भएको छ। अरनिको राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन अस्थायी रुपमा ‘बेलिब्रिज’ निर्माण गर्न लागिएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *