तातोपानी नाका खुलाउने बारे छलफल

ram naam satya
चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन्। नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभएको छ।

ज्वाइन्ट कमाण्ड मेकानिजम एग्रिमेन्ट नेपालले पूरा गरे नाका केही महिना भित्रै खोल्ने चिनियाँ पक्षका पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्याङ्ग ग्वीले बताउनुभएको प्रजिअ तामाङले भन्नुभयो। तातोपानी नाकामा संयुक्त सुरक्षा योजनाबारे नेपालले प्रतिबद्धता गरे नाका खुलाउनेतिर चिनियाँ लाग्ने ग्वीको भनाई उद्धृत गर्दै प्रजिअ तामाङले जानकारी दिनुभयो।

संयुक्त सुरक्षा योजनाबारे केन्द्रीय सरकारलाई जानकारी गराई टोलीको नेतृत्व गर्नुभएका प्रजिअले यसमा केन्द्रको निर्देशन चाहिने जानकारी दिएको बताउनुभयो ।ग्वीको नेतृत्वमा आठ सदस्यीय चिनियाँ टोली र प्रजिअ तामाङ नेतृत्वमा अध्यागमन, भन्सार, सीमा प्रहरीलगायत १३ जनाको टोलीले तातोपानी नाका खोल्ने विषयमा छलफल गरेको बताइएको छ।

बर्सेनि २० अर्बभन्दा बढीको आयात तथा पौने तीन अर्बको निर्यात हुँदै आएको तातोपानी नाका पूर्ण बन्द छ । नाका बन्द हुँदा नेपाली व्यापारीले कामै छाड्नु परेका र विस्थापितसमेत हुन पुगेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले सरकारले सीमा सुरक्षाको उचित प्रबन्ध मिलाई नाका खुलाउन लागि दिन आग्रह गर्नुभएको अनलाइन खबरले लेखेको छ।

‘नाका अवरुद्ध हुँदा हजारौंको रोजिरोटी गुमेको छ । अब नाका खुलाई काम गरेर खान पाइने वातावरण बनाइदिनु पर्यो –अध्यक्ष श्रेष्ठले अनुरोध गर्नुभयो।

व्यापारिक कारोबार गर्न नेपाल पक्षको सबै पूर्वाधार तयारी हालतमा रहेको तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभएको छ। नाका खुलाउने पहलकदमी तत्काल सरकारले लिनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सदस्य गोविन्द चौलागाईले बताउनुभयो । उक्त नाका आबद्ध व्यापारी व्यवसायी सङ्घ संस्थाले राजनीतिक दलका शीर्ष नेता र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएर र भेटवार्ता गरी नाका खुलाइदिन अनुरोध गरिएको पनि चौलागाईले जानकारी दिनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *