

काठमाडौँ उपत्यकाको उत्तरपश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा शुक्रबार सञ्चारोत्सव मनाइएको छ। नेपालमण्डल पर्यटन नगरी र विश्व साइकलयात्री प्रतिष्ठानले पर्यटन प्रवद्र्धनका लागि पर्यटन महोत्सव अभियानको थालनीस्वरूप सञ्चार उत्सव मनाएको गोरखापत्र अनलाइनले लेखेको छ। ‘जामाचो सञ्चार उत्सव तथा नेपालमण्डल पर्वतमाला साइकल उत्सव’ नाराका साथ आयोजित कार्यक्रम नेपाल पर्यटन बोर्डबाट शुरु भएर नागार्जुनको जामाचोमा पुगी समापन गरिएको थियो।
अभियानले विशेषगरी उपत्यकाका चन्द्रागिरि–चम्पादेवी, फूलचोकी–लाँकुरी भञ्ज्याङ, नगरकोट–जहरसिंहपौवा, शिवपुरी–ककनी र जामाचो–नागार्जुनलाई पाँच पर्यटन नगरीका रुपमा प्रवद्र्धनल गर्ने संयोजक कृष्ण केसीले बताउनुभयो।

काठमाडौँ उपत्यका वरिपरि रहेको पर्वतमालाको विकास र प्रवद्र्धनले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याउने जनाउँदै स्वयम्भूबाट अभियान शुभारम्भ गरिएको थियो। कार्यक्रममा विभिन्न सञ्चारसंस्थाका सञ्चारकर्मी र विश्वसाइकलयात्री पुष्कर शाहसहितको सहभागिता थियो।
