

कँडेल समूहका निर्देशक राजेन कँडेलले नेपालमा बिजुलीको माग बढ्दो रहेको भन्दै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालको जलविद्युत् विकासका लागि ठूलो दायरा रहेको बताउनुभयो। नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज जलविद्युत् निगमका अध्यक्ष एनएल शर्माले राजनीतिक अस्थिरता, जग्गा प्राप्ति र वनको जग्गा स्वीकृतिमा ढिलाई, आयकरमा सुविधा अभावलगायतका कारण नेपालमा एफडीआई आउन सम्भावना रहेको भन्दै प्रसारण लाइन निर्माणलाई सरकारले विशेष महत्व दिनुपर्ने बताउनुभयो।
फाइनान्स एट इक्वीक्याप एसिया कम्पनीका उपाध्यक्ष अपार न्यौपानेले जलविद्युत्मा स्थानीय प्रभावित क्षेत्रदेखि वित्तीय व्यवस्थापन गर्ने समूहको आ–आफ्नो स्वार्थका कारण बेला–बेलामा समस्या आउने गरेको भन्दै सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। भियतनामको ड्रागन क्यापिटलका निर्देशक जोसेफ होइसले आफ्नो देशमा छोटो समयमा पनि निजी क्षेत्रले धेरै मुनाफा दिएको भन्दै नेपालमा प्रक्रियागत रूपमै लामोसमय लाग्ने गरेकोमा त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो। स्ट्यान्डर्ड चार्टर बैंकको कमर्सियल एवं ग्लोबल बैंकिङका प्रमुख गोरख राणाले जलविद्युत् क्षेत्रको उचित जानकारी बिना नेपालका बैंकहरूले लगानी गर्न नसक्ने बताउनुभयो।

जापान सहयोग नियोग (जाइका) का प्रतिनिधि नोइकी निसीमुराले नेपालको जलविद्युत्मा विदेशी लगानी ल्याउन सक्षम र बलियो स्थानीय साझेदार आवश्यक रहेको बताउनुभयो।

