चीन जोड्ने कालीगण्डकी करिडोरको ‘ट्र्याक’ खुल्यो

ram naam satya

भारतको सुनौलीलाई कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीनसम्म जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मीमा नेपाली सेनाले ट्र्याक छिचोलेपछि सुनौली अब कोरला नाकासित जोडिएको गोरखापत्र अनलाइनले लेखेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बागलुङ र गुल्मी जिल्लामा पर्ने करिडोरको ७६ किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरिसकेको जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले नेपालसहित एसियाकै दुई आर्थिक शक्ति भारत र चीनलाई जोड्ने चीनको कोरलादेखि भारतको सुनौली जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँले खोलिएको ट्र्याक फराकिलो पारेर सडक कालोपत्रे गर्नका लागि ठाउँठाउँमा निर्माण भइरहेको समेत जानकारी दिनुभयो।

करिडोरअन्तर्गत बागलुङ र गुल्मी जिल्लामा पर्ने खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरेको थियो भने बाँकी खण्डमा सडक विभागले विभिन्न निर्माण कम्पनीमार्फत ट्र्याक खोल्ने काम गरेको थियो। बागलुङ र गुल्मीमा यो करिडोर ७६ किलोमिटर पर्छ।

दुई वर्षअघि चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गरेपछि यस करिडोरको निर्माणले गति लिएको हो। कोरलादेखि सुनौलीसम्म ४३५ किमि लामो यस करिडोरमा दुई लेन (नौ मिटर चौडाइ) को सडक निर्माण गर्न लागिएको हो। यो करिडोर निर्माणले प्रदेश ४ र ५ लाई मात्र नभई सिङ्गै मुलुकको नै आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास गरिएको छ।

कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किलोमिटर, कागबेनीदेखि बागलुङसम्म ९५ किलोमिटर, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किलोमिटर, रिडीदेखि बुटवलसम्म ६८ किलोमिटर र बुटवलदेखि सुनौलीसम्मको २५ किलोमिटर यस करिडोरअन्तर्गत पर्छ। कोरलादेखि १७ किलोमिटर उत्तरमा चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ।

बागलुङ र गुल्मी खण्डमा सेनाद्वारा निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँंदै सैनिक प्रवक्ता भण्डारीले तीन ठाउँमा बेलिब्रिज राख्ने काम पूरा भएको र अरू ठाउँको पहिचान भइरहेको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा यो खण्डको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले करिडोरको निर्माण दु्रत गतिमा भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो करिडोरको निर्माण तीव्र गतिमा भइरहेको छ। यसका लागि विनियोजित रकम प्रथम चौमासिक (असोज)मा सकिइसकेको छ। ”

चालू आर्थिक वर्षमा विनियोजित रकम र थप १० करोड रुपियाँ सकिएको तथा थप रकम अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी प्रवक्ता गौतमले दिनुभयो। अबको दुई वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।

चालू आर्थिक वर्षमा कालीगण्डकी करिडोरअन्तर्गत पर्ने राम्दी–मालढुङ्गा सडकखण्डका लागि ४५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ भने बेनी–जोमसोम सडकखण्डका लागि थप ४५ करोड रुपियाँ छुट्ट्याइएको छ। गत वर्ष गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्डका लागि २८ करोड ८२ लाख रुपियाँ विनियोजन गरिएको थियो।

भौगोलिक विकटताका कारण यस करिडोरमा सोचेजस्तो काम गर्न नसकेको सडक विभागको भनाइ छ। प्रवक्ता गौतमले भन्नुभयो, “कतिपय ठाउँमा हेलिकोप्टरबाट सामान ओसारेर र डोजर लगेर यस करिडोरमा काम गर्नुपर्ने अवस्था छ। ”

करिडोर निर्माणसँगै नेपाललाई दुवै छिमेकी देश भारत, चीन तथा तेस्रो देशसँग व्यापार विस्तारमा सहयोग पु¥याउने विश्वास गरिएको छ। कोरलादेखि सुनौलीसम्मको कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *