

सो शिविरमा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले ललितपुरलाई सांस्कृतिक नगरी बनाउने बताउनुभएको छ। स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै उहाँले सांस्कृतिक नगरी ललितपुरलाई विश्वसामू चिनाउन सक्दो काम गर्ने बताउनुभएको हो। समृद्ध नेपाल, विकसित समाज र स्वाधीन नेपालको लागि चाँडै वाम सरकार निर्माण हुने जानकारी दिनु हुँदै उक्त क्षेत्रबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभाका सदस्य पनि रहनुभएका नेतृ भुसालले खोकना भएर जाने ‘फाष्ट ट्रयाक’ र बाहिरी चक्रपथले स्थानीयबासीको गाँस बास जोखिममा पार्न नहुने बताउनुभयो।
नेतृ भुसालले दुई वर्षअघि आएको महाभूकम्पबाट सांस्कृतिक नगरी खोकनालाई तहसनहस पारेकाले पुनःनिर्माणको काम तदारुकताका साथ गर्न सम्बद्ध सरकारी निकाय एक ठाउँमा बस्नुपर्ने बताउनुभयो। उहाँले ललितपुरलाई सांस्कृतिक नगरी बनाउन चिनिया सांस्कृतिक नगरमा अनुसन्धान गर्न नेपाली विज्ञहरुको टोली भ्रमण गर्नुपर्ने धारणा राख्नुभयो।

चिनियाँ राजदूतावासका प्रतिनिधि याङ छाओले असल छिमेकी, असल मित्र र असल सहकर्मी आवश्यक रहेको बताउँदै नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। ललितपुर महानगरपालिकाका २१ वडाका अध्यक्ष रवीन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्तममा अरनिको समाजका अध्यक्ष डा. सर्वाेत्तम श्रेष्ठ, प्रथम उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले महाभूकम्पमा परेर ध्वस्त भएको खोकनामा आएर स्वस्थ नेपाल निर्माण शिविर चलाएको जानकारी दिनुभयो।

