चीनद्वारा नेपालसँग तातोपानी नाका सुरक्षा योजना माग

ram naam satya
चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन्। दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको कान्तिपुर अनलाइनले लेखेको छ।

तातोपानी नाका खोल्ने विषय केन्द्रीय सरकारले निर्णय गर्ने जानकारी दिँदै उनीहरूले सीमा सुरक्षाको खाकामा जोड दिएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताए। बैठकमा सहभागी नेपाली टोलीका प्रमुख तथा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार चिनियाँ अधिकारीले ‘ज्वाइन्ट कमान्ड मेकानिजम एग्रिमेन्ट’ प्रस्ताव राखेका थिए। उनीहरूले तपाईंहरूको योजना के छ भनेर जानकारी लिन खोजेका थिए। प्रजिअ तामाङको टोलीले यस्तो खाका र संयुक्त सुरक्षा खाकाको स्वीकृति गृह मन्त्रालयबाट मात्र पाउन सकिने जनाउ दिएका थिए। ‘चिनियाँ अधिकारीले राखेको ज्वाइन्ट कमान्डको विषयलाई हामीले माथिल्लो तहमै कुरा गर्न भन्यौं,’ तामाङले भन्नुभयो, ‘सीमाको सुरक्षा र नाका सञ्चालनको विषयमा छलफल भएको थियो।’ बर्सेनि २० अर्बभन्दा बढीको आयात तथा करिब पौने ३ अर्बको निर्यात हुँदै आएको यो नाका भूकम्पपछि पूर्ण रूपमा बन्द छ।

नेपालले हरेक बैठकमा नाका खोल्ने प्रस्ताव राख्दै आएको छ भने चीनले सीमा सुरक्षा र अपराधको विषयमा जोड दिने गरेको छ। नाकाबाट आउजाउ पूर्ण रूपमा बन्द भए पनि सुरक्षाको विषय भने सधैं प्राथमिकतामा पर्दै आएको छ।

छलफलमा चिनियाँ पक्षबाट पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्यांग ग्वीको नेतृत्वमा ८ जनाको टोली सहभागी थियो। नेपाली पक्षबाट प्रजिअ तामाङको नेतृत्वमा अध्यागमन, भन्सार, सीमा प्रहरीलगायत अधिकारी सहभागी १३ जनाले बैठकमा सहभागिता जनाएका थिए। भूकम्पपछि मात्र सीमा सुरक्षाका सन्दर्भमा ८ वटा बैठक भइसकेका छन्।

नाका सञ्चालनका विषय हरेक बैठकमा उठ्ने गरेको छ। बैठकमा तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले नाका बन्द हुँदा नेपाल–चीनबीच हुँदै आएको व्यापारमा प्रतिकूल असर परेको बताएका थिए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *